इन्डो–प्यासिफिक क्षेत्रका सेनाप्रमुखहरूको सम्मेलनमा भाग लिन प्रधानसेनापति शर्मा दिल्ली जाँदै

प्रधानसेनापति प्रभुराम शर्मा इन्डो–प्यासिफिक क्षेत्रका प्रधानसेनापतिहरूको सम्मेलनमा सहभागी हुन ७ असोजमा भारतको नयाँदिल्ली जाने भएका छन् । भारतीय सेना र अमेरिकी सेनाले संयुक्त रूपमा सम्मेलन आयोजना गर्न लागेका हुन् । भारतीय समकक्षी सेनाध्यक्ष मनोज पाण्डेको निमन्त्रणामा प्रधानसेनापति शर्मा दिल्ली जान लागेका हुन् ।

कार्यक्रमलाई ‘इन्डो प्यासिफिक आर्मिज चिफ कन्क्लेभ’ नाम दिइएको छ । सम्मेलनको शीर्षक ‘शान्तिका लागि एकैसाथ : हिन्द–प्रशान्त क्षेत्रमा दिगो शान्ति र स्थायित्व’ राखिएको छ । सम्मेलन ८, ९ र १० असोजमा हुनेछ ।

सम्मेलनको अघिल्लो दिन अमेरिकी सेनाका तर्फबाट सेनाप्रमुखहरूको सम्मानमा रात्रिभोज र स्वागत कार्यक्रम आयोजना हुने तय भएको छ । सम्मेलनको सह–आयोजक अमेरिकी सेना हो ।

भारतीय सेनाका भाइस चिफ अफ द स्टाफ लेफ्टिनेन्ट जनरल सुचिन्द्र कुमारका अनुसार सम्मेलनमा ३५ मुलुकका सैन्य प्रतिनिधिमण्डल रहनेछन् । जसमध्ये नेपालसहित १५ देशका प्रधानसेनापति सहभागी हुने कार्यक्रम छ । नेपाल, भारत, अमेरिका, अस्ट्रेलिया, बंगलादेश, इन्डोनेसिया, जापान, मलेसिया, भुटान, ब्रुनाई, कम्बोडिया, कोरिया, माल्दिभ्स, मंगोलिया, म्यानमार, न्युजिल्याल्डलगायतका देशबाट प्रधानसेनापतिहरू सहभागी हुनेछन् ।

अहिले सम्मेलनको १३औँ संस्करण आयोजना हुन लागेको भारतीय सेनाले जनाएको छ । विभिन्न संकटमा सैन्य कूटनीतिको भूमिकाका विषयमा सम्मेलनमा छलफल हुनेछ ।

सम्मेलनले सुरक्षाका समसामयिक विषयवस्तुबारे हिन्द–प्रशान्त क्षेत्रका स्थल सेनाहरूबीच उच्चस्तरमा आदन–प्रदान गर्ने अवसर उपलब्ध गराउने भारतीय सेनाले जनाएको छ । ‘यो मञ्चको मुख्य प्रयास यस क्षेत्रका सेनाहरूबीच पारस्परिक बुझाइ, संवाद तथा मित्रतामार्फत शान्ति र स्थायित्व प्रवद्र्धन गर्नु रहेको छ,’ भारतको प्रेस इन्फरमेसन ब्युरोद्वारा बुधबार जारी विज्ञप्तिमा भनिएको छ ।

सम्मेलन दिल्ली क्यान्टको माणिक सा केन्द्रमा आयोजना हुनेछ, जहाँ १५० जना (प्रतिनिधिमण्डल) सहभागी हुनेछन् । भारतीय रक्षामन्त्री राजनाथ सिंहले सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम छ । कार्यक्रममा भारतीय सेनाका चिफ अफ डिफेन्स स्टाफ अनिल चौहानलगायत सहभागी हुनेछन् ।

असोज ९ गते सम्मेलनका विषयमा भारतीय सेनाध्यक्ष मनोज पाण्डे र अमेरिकी सेनाका भाइस चिफ अफ स्टाफ रेन्डी जर्जले धारणा राख्ने कार्यक्रम छ । सम्मेलन तीन तहमा हुने कार्यक्रम रहेको भारतीय सेनाले जनाएको छ । प्रधानसेनापति शर्मासहितको प्रतिनिधिमण्डल भारतको राष्ट्रिय युद्ध स्मारकमा सहभागी हुनेछ ।

प्रधानसेनापति शर्माले अमेरिका र भारतका समकक्षीहरूसँग साइडलाइनमा भेटवार्ता गर्ने तयारी छ । ‘भारतीय र अमेरिकी सेनाप्रमुखसँग कुराकानी गर्ने तय भइसकेको छ, बाँकी सेनाप्रमुखहरूसँग पनि समय अनुकूलता हेरेर साइडलाइनमा छलफल हुन्छ,’ सैनिक स्रोतले भन्यो । नेपाली सेनाका प्रवक्ता सहायकरथी कृष्णप्रसाद भण्डारीका अनुसार प्रधानसेनापति शर्मा ७ असोजमा दिल्ली गएर ११ असोजमा स्वदेश फर्किने कार्यक्रम छ ।

सात सैनिक सहचारी नियुक्त 

सरकारले विभिन्न छ मुलुक र संयुक्त राष्ट्रसंघका लागि स्थायी नियोगसमेत  सातजना सैनिक सहचारी नियुक्त गरेको छ । हाल कार्यरत सैनिक सहचारीहरूको कार्यकाल सकिन लागेका वेला जंगी अड्डाको सिफारिसमा सरकारले उनीहरूलाई नियुक्त गरेको छ । नियुक्त भएकाहरू सबै नेपाली सेनाका महासेनानी हुन् ।

भारतका लागि महासेनानी प्रकाश लामिछाने, चीनका लागि महासेनानी जयन्त केसी र अमेरिकाका लागि महासेनानी पूर्ण ढकाल सैनिक सहचारी नियुक्त भएका छन् । त्यसैगरी, न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघीय स्थायी नियोगमा महासेनानी दिरेन्द्र मल्ल, बेलायतका लागि महासेनानी अनुप शाह, बंगलादेशका लागि महासेनानी अन्जनकेशर खत्री र पाकिस्तानका लागि महासेनानी भेषबहादुर केसी सहचारीमा नियुक्त भएका छन् । उनीहरूको कार्यकाल चार वर्षको रहनेछ । परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले उनीहरूलाई आगामी सातादेखि एक साताको तालिम सञ्चालन गर्ने कार्यक्रम छ ।