चीनको असिमित सैन्य आकार र उन्नत हतियारको सामना गर्न अमेरिकी सेनालाई रुपान्तरण गर्ने
१८ भाद्र २०८०, सोमबार

अमेरिकी रक्षा मन्त्रालयल पेन्टागनले आगामी दुई वर्षभित्र हजारौँ ड्रोनसहित उच्च प्रविधि सैन्य उपकरणहरू तैनाथ गर्ने योजना बनाएको छ । अमेरिकी उप-रक्षामन्त्री क्याथलिन हिक्सका अनुसार चीनको असिमित सैन्य आकार र उनीहरूको उन्नत हतियारको सामना गर्न अमेरिकी सेनालाई रुपान्तरण गर्नु आवश्यक रहेको छ ।
हिक्सका अनुसार अब चीनसँग प्रतिस्पर्धा गर्न अमेरिकी सेना र हतियारलाई नवीनीकरण गर्न आवश्यक छ । उनका अनुसार जब अमेरिका इराक र अफगानिस्तानमा २० औँ वर्षसम्म युद्धमा होमिएको थियो, त्यसबेला चीनले आफ्नो सेना र हतियारलाई आधुनिकीकरण गर्न सक्षम भयो ।
उनका अनुसार अब अमेरिकाले चीनलाई टक्कर दिन भविष्यमा हुने युद्धको कल्पना गरेर त्यहीअनुसार काम गर्न जरुरी छ । हाल चीनसँग सबैभन्दा बढी सैन्य जहाज, सेना र क्षेप्यास्त्र छ । चीनसँग उच्चतम प्रविधियुक्त ड्रोन हतियार र क्षेप्यास्त्रलगायतका हतियारहरू छन् ।
उप-रक्षामन्त्री क्याथलिन हिक्स चिनियाँ क्षमतालाई इंगित गर्दै भन्छिन्, ‘हामी चिनियाँ जनमुक्ति सेनालाई प्रतिवाद त गर्नेछौँ । तर, हाम्रा लागि योजना बनाउन गाह्रो हुनेछ, उनीहरूमाथि आक्रमण गर्न गाह्रो हुनेछ र उनीहरूलाई युद्धमा पराजित गर्न गाह्रो हुनेछ ।’
हिक्सका अनुसार अब अमेरिकाले स्वायत्त प्रणालीहरूजस्तै उच्च प्रविधियुक्त हतियार विकास गर्न ध्यान दिनुपर्छ । अमेरिकाले आगामी १८ देखि २४ महिनाभित्र यस्ता हजारौँ हतियारहरू विकास गरेर तैनाथ गर्नुपर्छ । अमेरिकाले बारम्बार चीनलाई आफ्नो प्रमुख चुनौती भएको बताउँदै आएको छ ।
हालै मात्र पनि अमेरिकी राष्ट्रपतिको कार्यालय हाउसले राष्ट्रिय सुरक्षा रणनीति जारी गर्दै चीनलाई एक प्रमुख चुनौतीका रूपमा वर्णन गरेको थियो । अमेरिकाले चीनलाई अन्तर्राष्ट्रिय व्यवस्थालाई पुनः आकार दिन सक्ने शक्ति भनेको थियो ।दक्षिण चीन सागरमा आफ्नो दाबीका बीच इण्डो-प्यासिफिक क्षेत्रलाई पुनर्संरचना गर्ने चीनको क्षमता र अभिप्रायबाट अमेरिका चिन्तित छ । आवश्यक परे बल प्रयोग गर्दै ताइवानलाई एकता गर्ने चीनको बाचा छ ।
चीन अमेरिकापछि विश्वकै दोस्रो शक्तिशाली आर्थिक राष्ट्र हो । चीनले चाँडै नै अमेरिकालाई आर्थिक रूपमा उछिन्ने प्रक्षेपण भइरहन्छ । यस्तोमा अमेरिकाले चीनलाई हरेक हिसाबले घेर्न खोजिरहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया