चीनबाट हङकङ हुँदै नेपाल आएको थियाे बरामद गरेको सुन
५ श्रावण २०८०, शुक्रबार

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय र प्रहरीको मिलेमतोबाट बाहिरिएको सुन मंगलबार साँझ राजश्व अनुसन्धान विभागले बरामद गर्न सफल भएको छ । तीन महिना अघि खुलेको एक कम्पनीको नामबाट ल्याइएको सुनलाई चिनियाँ, नेपाली र भारतीय व्यापारीको मिलेमतोमा भारततर्फ लैजान लागिएको सुनलाई मंगलबार बेलुकी पख विभागको टोलीले बरामद गरेको हो ।
मोटरसाइकल र स्कुटरको ‘ब्रेक शु’ भनेर ल्याएको सामानमा टासेर सुन ल्याइएको थियो । विभाग स्रोतका अनुसार करिब ९० देखि १ सय किलो सुन नेपाल ल्याइएको हो । ‘ब्रेक शुको तौल चाहि करिब १ सय ५२ किलो भन्दा बढी छ’, स्रोतले भन्यो । विभागले मंगलबार साँझ होल्ड गरेको र बुधबार दिउँसोबाट अप्रेशन शुरु गरेको थियो । त्यो अप्रेशन राती अबेरसम्म चलेको थियो । सो अप्रेशनबाट ठूलो परिणाम सुन बरामद भएको हो । सुन चिनबाट हङकङ हुँदै नेपाल आएको थियो ।
विभागका महानिर्देशक नवराज ढुंगानाका अनुसार मंगलबारबाटै अप्रेशन सुरु भएको र बुधबार राती अबेरसम्म नै जारी रहेको थियो । ‘क्याथे प्यासिफिक’को प्लाइटमार्फत आएको उक्त सुन कार्गोमा थियो । मोटरसाइकल र स्कुटरको ब्रेक सुमा राखेर सुन नेपाल ल्याइएको थियो । ८० किलोभन्दा माथि होला हामी अझै अप्रेशनमै छौ’, महानिर्देशक ढुंगानाले कुराकानीमा भने । विभागको विशेष सूचनाका आधारमा टोलीले विमानस्थल भन्सारमा छापा मारेको थियो ।
सुनसँगै दुई जना व्यक्तिलाई पनि पक्राउ गरिएको छ । एक जना भन्सार एजेण्ट राजेन्द्र राई र ट्याक्सी चालक लाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीन महिनाअघि खोलिएको कम्पनीको नाममा पटक पटक यस प्रकारको सामान आउने सूचना प्रहरी र विमानस्थल भन्सार कार्यालयलाई पनि थियो । तर उनीहरूले वेवास्ता गरेपछि मंगलबार साँझ विभागका कर्मचारीहरू आफै गएर विमानस्थल बाहिरबाट बरामद गरेका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया