बिआरआई र एमसीसीले नेपालमा सिर्जना गरेको द्वन्द
२ श्रावण २०८०, मंगलवार

सत्तारुढ माओवादी केन्द्रका नेता राम कार्कीले नेपाल भूराजनीतिक चपेटामा फस्दै गएको टिप्पणी गरेका छन् । यसबाट मुक्ता हुने खालको परराष्ट्र नीति बनाउने पहलकदमी लिन परराष्ट्रविद्हरूलाई उनले आग्रह गरे ।
त्रिभुवन विश्वविद्यालय नेपाल र एशीयाली अनुसन्धान केन्द्र (सिनास) ले सोमबार कीर्तिपुरमा आयोजना गरेको कार्यक्रममा कार्कीले बीआरआई, एमसीसीजस्ता परियोजना नेपालको हितमा नभएको दाबी गरे ।
‘यो बीआरआईको बारेमा, एमसीसीको बारेमा पनि जो कुरा आइराखेको छ । यो कुराको झलक देखाउनु भएको छ उहाँले । अब हामी कति खतरानाक ढंगले जीओ स्ट्राटिजीमा नेपाल फस्दैछ भन्ने कुरा,’ कार्कीले भने ।
त्यसले पार्ने असरबारे नेपाल सचेत हुनुपर्नेमा उनको जोड थियो । ‘हिजोको शीतयुद्ध त रुस र अमेरिकाको थियो । त्यसको अलिअलि छिटा मात्रै यहाँ पस्दथ्यो । तर, अहिले त हामी भूमरीको बीचमा छौँ,’ कार्कीले भने, ‘यस्तो भूमरीको अवस्थामा भएको हुनाले नेपालले स्टयान्ड गर्नुपर्छ । र, त्यसो गर्नका लागि विमर्शहरू गर्नुपर्छ ।’
नेपालले विश्व अर्थ व्यवस्था र विश्व राजनीतिबारे गहिरो अध्ययन गरी सोहीअनुसारको परराष्ट्र सम्बन्धलाई अघि बढाउने कुरामा ढिलाई गर्न नहुने कार्कीको भनाइ छ ।
‘नागरिक समाज पनि कमजोर छ । र, अहिले विकसित भएको विश्व राजनीतिक, विश्व अर्थ व्यवस्था जसरी अगाडि बढदैछ । त्यसलाई गहिरो गरी अध्ययन गरौँ । छलफल गरौं । र, नेपालको हितमा नीति प्रतिपादन गर्नका निम्ति हामी एक ठाउँमा पुग्ने प्रयास गरौँ,’ कार्कीले भने ।
नेता कार्कीले भारत र चीनबीच नेपालले सुमधुर सम्बन्ध कायम राखेर जानुपर्ने बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया