नेपाल-भारत ‘क्रस बोर्डर डिजिटल पेमेन्ट प्रणाली दुवै देशमा चल्ने बनाउने हो

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को साता अघि भएको भारत भ्रमणका बेला नेपाल र भारतबिच क्रस बोर्डर डिजिटल पेमेन्ट सम्झौतामा हस्ताक्षर भएको छ । भारतको नेसनल पेमेन्ट कर्पोरेसन (एनपिसिआई) र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल)बीच उक्त सम्झौतामा हस्ताक्षर भयो । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) का तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सिइओ) निलेशमान सिंह प्रधान र भारतको तर्फबाट एनपीसीआइ इन्टरनेसनल पेमेन्ट्स लिमिटेड (एनआइपीएल) का सिइओ रितेश शुक्लाबीच एमओयुमा हस्ताक्षर भएको हो।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा भएको सम्झौतापश्चात् दुई देशका व्यवसायी, विद्यार्थी र पर्यटकलाई भुक्तानीमा सहज हुने विश्वास छ । अहिलेसम्म कार्डको माध्यमबाट वस्तु तथा सेवा खरिदमा क्रस बोर्डर (अन्तरदेशीय) भुक्तानी गर्न सकिए पनि क्यूआर कोडमार्फत वित्तीय कारोबार गर्न पाइँदैनथ्यो । तर, अब भारतमा भुक्तानी प्रणाली सञ्चालन गरिरहेको दुई कम्पनीहरूको ‘सिस्टम कनेक्ट’ गरिने भएको छ ।

अब नेपाली नागरिकले भारतीय बजारमा र भारतीय नागरिकले नेपालमा वालेट र मोबाइल बैङ्किङको माध्यमबाट क्यूआर स्क्यान गरी डिजिटल भुक्तानी गर्न सक्ने छन् । कुनै एउटा देशमा रहेका व्यक्ति वा व्यवसायीले अर्को देशमा रहेका व्यक्ति वा कम्पनीलाई भुक्तानी गर्नु पर्‍यो भने ती देशका कानुन तथा प्रविधिहिरु हेर्नु पर्ने हुन्छ । यसमा प्रविधिको कुराहरू पनि आउँछ । कसरी फन्ड ट्रान्सफर गर्ने, मुद्रा, यसका साथै कानुनी र अन्य कम्प्लायन्स पुरा हुनेगरि भौतिक पूर्वाधार बनाउनु पर्ने हुन्छ ।

नेपालको भुक्तानीको अवस्था अहिले जुन अवस्थामा छ त्यसलाई अन्तराष्ट्रिय रुपमा कसरी लैजाने भन्नेबारे यो पहिलो खुड्किलो हो । यो सम्झौतापछि नेपाल क्लियरिङ हाउस र नेसनल पेमेन्ट कर्पोरेसन अफ इण्डिया (एनपीसीआई) को यूपीआई इन्ट्रिग्रेसन हुनेछ । यसपछि नेपालमा क्लियरिङ हाउसले सञ्चालन गरेको रिटेल पेमेन्ट स्विचमा आबद्ध बैंक तथा वित्तीय संस्थाहरूको डिजिटल भुक्तानी सुविधा लिन सकिन्छ ।

अहिले एनसिएचएलले आन्तरिकरुपमा जसरी भुक्तानी गरिरहेको छ त्यसरी नै अन्तर्राष्ट्रिय रुपमा पनि भुक्तानी गर्न सकिने व्यवस्था हुन्छ । भारतमा पनि सबै बैंकले डिजिटल बैङ्किङ कारोबारमा भुक्तानी गर्दा एनपीसीआईको प्रणाली प्रयोग गर्छन् । क्रेडिट कार्ड, डेबिट कार्ड र प्रिपेड कार्डबाट भारतमा भुक्तानी गर्न र नगद झिक्न सकिन्छ ।

अहिले नेपाल र भारतबिच क्रस बोर्डरमा व्यवसायीक भुक्तानी गर्दा बैंकहरुले स्वीफ्ट सिस्टम प्रयोग गर्ने गरेका छन् । अन्य फन्ड ट्रान्सफरको लागि रेमिट्यान्सको सिस्टम रहेको छ । जसमा भुक्तानीको लागि सीमा तोकिएको हुन्छ । नेपालीले भारतमा र भारतीयले नेपालमा बैंकको कार्ड समेत प्रयोग गर्ने गरिएको छ । यो प्रयोग गर्दा समेत सीमित कारोबार गर्ने र तोकिएको शुल्क तिर्नु पर्ने हुन्छ ।

तर, अब क्रस बोर्डर डिजिटल पेमेन्ट सम्झौतापछि भुक्तानीमा सहज हुनेछ । भारतीयहरू नेपाल आउँदा र नेपाली भारत जाँदा क्युआरमा आधारित रहेर, मर्चेन्ट पेमेन्टहरू गर्न सकिने छ । यस बाहेक फरक फरक किसिमको ट्रान्जेक्सन हुन सक्छन् त्यसलाई हामीले बिस्तारै बढाउँदै लैजाने योजना बनाएका छौँ । सर्वसाधारणले कार्डबाहेक मोबाइल फोनबाट पनि गरिने भुक्तानीहरूलाई सहज बनाउने हाम्रो लक्ष्य रहेको छ ।

यसमा हामीले नेपालको एनपीआइ र भारतको युपिआइलाई जोड्ने हो । तथापि, कस्तो किसिमको कारोबारहरू गर्न दिने, कतिसम्मको दिने र कुन कुरालाई पहिलो प्राथमिकता दिने भन्नेबारे स्पष्ट पार्नु पर्ने हुन्छ । हामीले पुँजी पलायन जस्ता कानुनहरूलाई पनि हेर्नु पर्ने हुन्छ । सीमा, शुल्क, सुरक्षाबारे सम्बन्धित केन्द्रिय बैंकसँग पनि एक तहको छलफल गरेर त्यहाँबाट प्राप्त सुझाव समेत आवश्यकता पर्छ । त्यसलाई पनि लिएर हामी अगाडी बढ्छौँ ।

सबैले बुझ्नुपर्ने कुरा यो हो कि अहिले हामीले जोड्न लागेको सिस्टम नयाँ होइन । आन्तरिकरुपमा जसरी अहिले चलिरहेको छ त्यसलाई अन्तराष्ट्रियरुपमा पनि पुर्‍याइएको मात्र हो । अन्तराष्ट्रियरुपमा जोड्दा त्यसबाट आउने जोखिमका विषयहरूमा पनि हेरेर हामी अगाडी बढ्ने छौँ ।

सम्झौतापछि नेपाल र भारत दुवै देशका विज्ञ र सरोकारवाला अधिकारीहरूको समुहमा छलफल सुरु भएको छ । यससँगै प्राविधिक काम पनि सुरु गर्न तयारी थालिएको छ । अहिले जुन जुन माध्यमबाट कारोबार गर्दा लागिरहेको शुल्क भन्दा कम शुल्कको व्यवस्था गर्ने भन्नेमा नै हाम्रो जोड छ ।

यो सम्झौताको मुख्य उपलब्धि भनेको अब दुवै देशका प्रयोगकर्ताहरूले अहिले आन्तरिकरुपमा जसरी भुक्तानी गरिरहेका छन् त्यसरी नै नेपालीले भारतमा र भारतीयले नेपालमा भुक्तानी गर्न सकिन्छ । क्रस बोर्डर डिजिटल पेमेन्ट गर्न ग्राहकहरुलाई सहजता प्रदान गर्नु नै यसको एक मात्र उद्देश्य हो । सांकेतिक तस्बिर

(नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निलेशमान प्रधानसँग आर्थिकन्युज डटकमका इन्द्रबहादुर बानियाँले गरेको कुराकानीमा आधारित)