छिमेकी देशसँगको सम्बन्ध बलियो बनाएको दाबी नक्सालाई राजनीतिक विषय बनाउन नहुने विदेशमन्त्रीको टिप्पणी

एजेन्सी । भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले ९ वर्ष पूरा गरेको छ । सन् २०१४ र २०१९ का दुई चुनाव जितेर निरन्तर सरकार चलाएको भारतीय जनता पार्टीले यसबीचमा विश्वमञ्चमा भारतको छवि बदलेको दाबी गरेको छ ।
मोदीले सन् २०१९ मे ३० मा दोस्रोपटक प्रधानमन्त्री पदको शपथ लिएका थिए । उनी गैर–कंग्रेस पार्टीबाट सबैभन्दा लामो प्रधानमन्त्री बन्ने नेता पनि बनेका छन् । भारतभित्र मोदी सरकारको पक्ष विपक्ष गरी दुई ध्रुवमा बाँडिने समूह ठूलो छ । विश्व कूटनीतिमा भने भारतले दरिलो उपस्थिति देखाउँदै गएको छ । उक्त अवसरमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा भारतका विदेशमन्त्री एस जयशंकरले विश्वमञ्चमा भारत तीव्र गतिले विश्वसनीय र प्रभावी ‘विकास साझेदार’ का रूपमा स्थापित हुँदै गएको दाबी गरेका छन् । ‘विश्व, विशेष रूपले ग्लोबल साउथ, भारतलाई एक विकास साझेदारका रूपमा हेर्न थालेको छ,’ उनले भने ।

उनले विश्वका विभिन्न मञ्चमा भारतले विकास र आर्थिक साझेदारीमा भूमिका निर्वाह गरेको बताए । श्रीलंकाको आर्थिक संकटमा भारतले निर्वाह गरेको भूमिका होस् वा कोरानाविरुद्धको भ्याक्सिन धेरैतिर पुर्‍याउने भारतको प्रयासलाई विश्वले मानेको उनले उल्लेख गरे । ‘विश्वले भारतलाई हेर्ने दृष्टिमा परिवर्तन आएको छ, सारा विश्व हामीसँग जोडिन चाहन्छ, हाम्रा कुरा सुन्न चाहेको छ,’ उनले भने ‘भारत विश्वसनीय र प्रभावी आर्थिक तथा विकास साझेदारको रूपमा आएको छ ।’

उनले भारत यतिबेला ७८ देशमा विकास साझेदारका रूपमा काम गरिरहेको बताए । ती देशहरूमा कम्तीमा ६ सयभन्दा बढी प्रमुख परियोजनाहरूमा भारतको साझेदारी रहेको उनले जानकारी दिए । सबैभन्दा बढी छिमेकी देशहरूमा त्यस्ता विकास परियोजनाहरूमा भारत सहभागी रहेको उल्लेख गर्दै उनले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालको हालै सम्पन्न भारत भ्रमणको समेत चर्चा गरेका छन् । ‘हालै मात्र नेपालका प्रधानमन्त्रीले भारतको भ्रमण गर्नुभएको छ, त्यस क्रममा धेरै नयाँ परियोजनाहरूको प्रारम्भ भएको तपाईंले देख्न सक्नुहुन्छ,’ उनले भने, ‘पछिल्ला ९ वर्षमा भारतले आफ्ना छर छिमेकमा बिजुली उत्पादन, प्रसारण, इन्धन आपूर्ति, रोड, रेल्वे, पुल, संयुक्त जाँच केन्द्रलगायत बहुआयामिक क्षेत्रमा सहकार्य गरेको छ ।’

उनले सबैभन्दा बढी सहकार्य छिमेकमै भएको र अर्कोतिर चुनौती पनि छिमेकमै रहेको बताए । पाकिस्तान र चीनसँगको सम्बन्धलाई उनले चुनौतीका रूपमा देखाएका छन् । उनले नेपाल, बंगलादेश, माल्दिभ्स, श्रीलंका, भुटान, म्यान्मार सबैसँग राजनीतिक सम्बन्ध बलियो बनेको दाबी गरेका छन् । ‘रिजनल कनेक्टिभिटी’ बढेको र यो क्षेत्रमा पहिलो पटक ‘रिजनल इकोनोमी’ को विकास भएको उनले उल्लेख गरे । ‘एक देशबाट अर्को देशमा बिजली, सडक, इन्धन र रेल जान थालेको छ । छिमेकसँगको सम्बन्ध र प्राथमिकताको कुरा गर्दा एक लेभलमा प्रोग्ररेस रिपोर्टमा धेरै सफलता देखाउन सक्छु,’ उनले भने ‘तर, चुनौती छ । एउटा पाकिस्तानसँग, यो नयाँ विषय होइन । अर्को चीनसँगको बोर्डर इस्युमा ।’

उनले भारतले पाकिस्तान र चीन दुवैसँग सम्बन्धलाई अगाडि बढाउन चाहेको दाबी गरे । तर, क्रस बोर्डर आतंकवादलाई सहेर छिमेकी पहिलोको नाममा पाकिस्तानसँगको सम्बन्धलाई अगाडि बढाउन नसकिने उनले उल्लेख गरे । त्यस्तै, चीनसँग निरन्तर आफूहरू संवादमा रहेको र बोर्डरमा शान्ति नभएसम्म सम्बन्धलाई अगाडि बढाउन समस्या हुने उनको भनाइ थियो । ‘चीनसँगको सम्बन्ध उतिबेला मात्रै राम्रो हुन सक्छ, जब बोर्डर क्षेत्रमा शन्ति हुनेछ,’ उनले भने, ‘भएका सम्झौता वा हुने सम्झौताको पालना हुनुपर्छ । सम्झौता उल्लंघन गरेर सम्बन्धलाई अगाडि बढाउन समस्या हुन्छ ।’

उनले अफगानिस्तानमा जनताको समस्यामा सहयोगीका रूपमा भारत उभिएको समेत चर्चा गरेका छन् । त्यहाँको राजनीतिमा ध्यान दिनुभन्दा पनि भारतले त्यहाँका मानिसहरूलाई आवश्यक सहयाता दिने विषयलाई प्राथमिकता दिएको उनले उल्लेख गरे । विश्वको जनुसुकै स्थानमा समस्यामा परेका आफ्ना नागरिकलाई स्वदेश फर्काउन सफल भएको समेत उनले बताए । कोभिडको समयमा होस वा युक्रेन, सुडान र अफगानिस्तानका द्वन्द्वमा फसेका भारतीयलाई स्वदेश ल्याएको बताए ।

युक्रेन युद्धका कारण रुस र चीन धेरै नजिकिँदै गएका बेला त्यसले भारत र रुसको सम्बन्धलाई कुनै पनि समस्या नपार्ने उनले बताएका छन् । उनले रुससँग भारतको सम्बन्ध धेरै पुरानो र जुनसुकै समयमा पनि स्थिर रहेकाले अन्य कुनै पनि घटनाक्रम वा प्रभावले त्यसलाई कमजोर पार्न नसक्ने बताए । विश्वमा धेरै खाले परिवर्तनहरू आए पनि रुस र भारतको सम्बन्धलाई प्रभाव पार्न नसकेको उनको भनाइ थियो । ‘विभिन्न घटनाक्रमले रसिया–चाइना, रसिया–यूस वा रसिया–युरोपको सम्बन्ध तलमाथि भए पनि भारतसँगको सम्बन्ध सधैं उस्तै छ,’ उनले भने, ‘हाम्रो सम्बन्ध धेरै नै विशेष रणनीतिक रहँदै आएको छ । दुवै देशको नेतृत्व सम्बन्धको महत्त्वलाई बुझेका छन् ।’ उनले दुई देशको सम्बन्धमाथि प्रश्नचिह्न उठ्ने खालको कुनै पनि काम पछिल्ला दिनमा पनि नभएको बताए ।

‘नक्साको कुरा राजनीतिक विषय होइन’

भारतको नयाँ संसद्मा लगाइएको एउटा प्राचीन भारतको नक्साप्रति नेपाल, बंगलादेश र पाकिस्तानले असन्तुष्टि जनाएका छन् । त्यस सन्दर्भमा सोधिएको प्रश्नको जवाफ दिँदै विदेशमन्त्री एस जयशंकरले नक्सा ऐतिहासिक सन्दर्भको कुरा भएकाले त्यसलाई राजनीतिक विषय बनाउन नहुने टिप्पणी गरेका छन् । उनले यसअघि नै विदेश मन्त्रालयको प्रवक्ताले त्यस विषयबारे बताइसकेको समेत उल्लेख गरे ।

‘नक्साको मुनि प्रस्ट रूपमा अशोका एम्पायरको ऐतिहासिक तथ्य लेखिएकाले मलाई लाग्दैन यो राजनीतिक विषय बन्नुपर्छ,’ उनले भने, ‘हाम्रा मित्र देशहरूलाई कुनै क्लियारिफिकेसन चाहिएको छ भने त्यो कुनै ठूलो कुरा होइन । पाकिस्तानको कुरा छाड्दिनु तर अन्य मलाई बताइएअनुसार अन्य मित्र देशहरूले कुरा बुझिसकेका छन् ।’