भारत भ्रमणको उपलब्धि केही मान्छेलाई नपचेर जनतामा भ्रम फैलाए : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमणको उपलब्धिलाई स्वीकार गर्न नसकेकाहरूले जनतामा भ्रम छर्ने काम गरिरहेको आरोप लगाएका छन् ।
शनिबार दिउँसो नुवाकोटको लाकुरी भञ्ज्याङमा पञ्चकन्या गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन गर्दै उनले यसपटकको भारत भ्रमणबाट देशको स्वाधीनता, विकास र समृद्धिको ढोका खोल्ने आधार बनेको र त्यसले सिंगो राष्ट्र गौरवान्वित भइरहेका बेला केही व्यक्तिलाई राम्रो नरुच्ने रोग लागेको टिप्पणी गरे ।
प्रधानमन्त्री प्रचण्डले भने, ‘मेरो भारत भ्रमणले सिंगो राष्ट्र गौरवान्वित छ। राष्ट्रको विकासको ढोका खोल्नुपर्छ भन्ने आधार तय भएकोले आमजनता खुसी छन्। तर, यो खुसी र सफलता केही मान्छेहरुलाई पचेको छैन। मलाई चाहिँ इतिहासमा पहिलोपटक राष्ट्रको बृहत्तर हितमा राम्रो काम गर्न पाएकोमा खुसी लागेको छ।’
उनले विकासका लागि राजनीतिक सहमति र राष्ट्रिय संकल्प चाहिने भन्दै राजनीतिक पूर्वाग्रह राख्न नहुनेमा जोड दिए ।अर्थतन्त्रको चुनौतीबीच पनि कृषिलाई उच्च प्राथमिकता दिइएको भन्दै उनले उत्पादन र उत्पादकत्व प्रवर्द्र्धन गर्ने नीति लिएको उल्लेख गरे ।
कार्यक्रममा अर्थमन्त्री डा. प्रकाश शरण महत, नुवाकोटका संघीय सांसद हितबहादुर तामाङ, प्रदेश सभाका सदस्यहरू राधिका तामाङ, रमेश महत लगायतले सम्बोधन गरेका थिए ।