भारतीय संसदको नक्साले धार्मिक महत्वलाई उजागर गर्ने, राजनीतिक नभएको दाबी
१८ जेष्ठ २०८०, बिहीबार

काठमाडौं – भारतको नयाँ संसद् भवनमा देखाइएको भित्तेचित्र नक्साले यसको अर्थ र प्रतिनिधित्वको बारेमा बहस चर्काएको छ।
नक्साले अखण्ड भारत वर्षको प्रतिनिधित्व नगर्ने मात्र होइन, भारतको वर्तमान राजनीतिक नक्शालाई समेत जोड नदिने भारतीय पक्षको दाबी छ ।
यसले केवल दक्षिण एसियाको केही ऐतिहासिक र सांस्कृतिक महत्वका क्षेत्रहरुको चित्रणको रूपमा कार्य गर्ने उसको भनाइ छ । भित्तेचित्र नक्साले हिन्दु र बौद्ध धर्मका विभिन्न तीर्थस्थलहरू देखाउँदै तिनीहरूको धार्मिक महत्वलाई उजागर गर्ने बताइन्छ ।
यसमा हस्तिनापुर जस्ता सहरहरू समावेश छन्, जुन आज अस्तित्वमा पनि छैन । नक्सामा वर्तमान भारतको काश्मीरको पनि सबै भागहरू समेटेको छैन । जसले यो पुष्टि गर्दछ कि यो नक्साको अखण्ड भारतसँग कुनै मेल छैन ।
भित्ते चित्रको वर्णन पाठ ब्राह्मीमा लेखिएको छ, जुन अशोक कालमा प्रयोग भएको पुरानो लिपि हो, यसले पनि यस नक्सको ऐतिहासिक र सांस्कृतिक पक्षहरूमा केन्द्रित रहेको संकेत गर्दछ। भारतका केही अबुझ नेताहरुले यसलाई अखण्ड भारत वर्षको प्रतिनिधित्वको रूपमा भ्रामक दावीहरू गर्दै समाजिक सञ्जालमा पोष्ट गर्न थालेपछि नक्साबारे विवाद उत्पन्न भएको हो ।
त्यस विवादलाई बाबुराम भट्टराई र कमल थापालगायतका नेपाली नेताहरूको प्रतिक्रियाले झन् बढायो । एेतिहासिक र सांस्कृतिक सम्पदाको कलात्मक चित्रण र राजनीतिक एजेन्डाहरूको प्रवर्द्धनबीचको भिन्नतालाई छुट्याउन नसक्दा अनावश्यक विवाद उत्पन्न भएको बताइन्छ । भारतको नयाँ संसद भवनमा भित्तेचित्रले नक्सा मुख्य रूपमा धार्मिक महत्वको प्रतिनिधित्वको रूपमा काम गर्दछ।
यसको उद्देश्य कुनै पनि राजनीतिक दाबी गर्नुभन्दा हिन्दु र बौद्ध धर्मका पवित्र स्थलहरू प्रदर्शन गर्नु हो। नेपालको लुम्बिनी, कपिलवस्तु र विराटनगरका साथै पाकिस्तान र जम्मु–काश्मीरका क्षेत्रहरू समावेश गरिएको नक्साले यस क्षेत्रको साझा सांस्कृतिक र धार्मिक सम्पदा झल्काउँछ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणअघि यस्तो नक्सा जारी गरेको भन्दै नेपालमा पनि प्रश्नहरु उठाउन थालिएको छ।
तर, हिन्दुत्व विचारक सवारकर जन्मदिनको अवसरमा उद्घाटन गरिएको यस संसद् भवनमा कुँदिएको ग्राफले हिन्दु र बौद्ध क्षेत्र समेटेर भारतले आफ्नो धार्मिक पहिचान विश्वसामु चिनाउन खोजेको देखिन्छ।
नेपाल–भारतबीच राजनीतिक सम्बन्ध स्थापित हुनुअघिदेखि नै धार्मिक र सांस्कृतिक सम्बन्ध स्थापित भएको थियो। त्यसैगरी हाम्रा कैयौं धार्मिक ग्रन्थहरुमा पनि भारत वर्षको कुरा उल्लेख गरिएको छ, जसमा आधुनिक नेपाल, भारत, पाकिस्तान, श्रीलंका, अफगानिस्तानका कैयौं क्षेत्रहरुबारे वर्णन गरिएको पाइन्छ।
यसरी ऐतिहासिक सम्बन्ध रहेको धार्मिक र सांस्कृतिक विषयमा राजनीति मिसाएर कूटनीतिक सम्बन्धमा धक्का पु¥याउने षड्यन्त्र भएकोले यस्ता षड्यन्त्रहरुलाई चिर्न नेपाल र भारत दुबै सरकारहरु सक्रिय हुन पनि आवश्यक रहेको छ।
नेपालका मुस्लिमलाई साउदी र इसाईलाई नि इजरायल प्रिय भएजस्तै भारतीयहरुलाई नि पशुपतिनाथ, मुक्तिनाथ र जनकपुर आफ्नै आध्यात्मिक क्षेत्र भएको महसुस हुन्छ भने नेपालका हिन्दुहरु हरिद्वार, प्रयागराज र कुशीनाथ नपुगेर उनीहरुको धार्मिक यात्रा अपुरो भएको मानिन्छ।
यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नै नेपालको धामबिना राम अधुरा र भारतका धर्म र संस्कृति अधुरो भएको बताएका थिए।
यसकारण पनि नेपाल–भारतबीचको विशेष सम्बन्धमा खलल पुग्ने गरी षड्यन्त्र गर्न खोजिएकोतर्फ सजग भएर यस्ता भ्रम चिर्न सरकार नै गम्भीर हुनुपर्ने बेला भएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया