सहमति र सम्झौतालाई अन्तिम रूप दिन नेपाली टोली भारत जाँदै
१६ जेष्ठ २०८०, मंगलवार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीच छलफलको एजेन्डा तय गर्न नेपाली टोली आज भारत जाँदैछ । प्रधानमन्त्री प्रचण्डको चारदिने औपचारिक भ्रमणको पूर्वसन्ध्यामा दिल्लीमा नेपाल र भारतका अधिकारीहरूबीच द्विपक्षीय एजेन्डामा छलफल हुँदै छ ।
परराष्ट्र मन्त्रालयमा दक्षिण एसिया डिभिजन प्रमुख रामप्रसाद सुवेदीको नेतृत्वमा सरोकारवाला मन्त्रालयका सहसचिवहरूको टोलीले मंगलबार साँझ र बुधबार बिहान भारतीय टोलीसँग छलफल गर्नेछ । नेपाली टोलीमा भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्मा तथा वाणिज्य, ऊर्जा मन्त्रालयका सहसचिवहरू रहनेछन् ।
मंगलबार साँझ दुई देशबीच ऊर्जा, वाणिज्य र व्यापारलगायतका एजेन्डामा छलफल गर्न नेपालको टोली दिल्ली जाने भएको हो । प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीच छलफलको एजेन्डा तय गर्न दुई देशका कूटनीतिक अधिकारीहरूबीच छलफल हुनेटछ । दुई देशका अधिकारीहरूबीच मुख्यतया कनेक्टिभिटी, विकास साझेदारी र जलविद्युत् विकासबारे छलफल हुने बताइएको छ ।
नेपालले भारतसँग मागेको हवाई रुट, दोधारा–चाँदनीमा सुक्खा बन्दरगाह, वीरगन्जको एकीकृत जाँच चौकी (आइसिपी) उद्घाटन, भारतीय सहयोगमा क्रिकेट रंगशाला निर्माण, पानीजहाज, कृषिलगायतका विषयमा पनि छलफल हुनेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया