प्रधानमन्त्री भारत भ्रमण : मोदीसँग ऊर्जा, व्यापार, नेपाल–भारत नयाँ हवाई रुट, सीमापार रेलमार्ग लगायतका एजेन्डामा वार्ता
१६ जेष्ठ २०८०, मंगलवार

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबारदेखि (१७ देखि २० जेठ सम्म) छिमेकी मित्रराष्ट्र भारतको औपचारिक भ्रमण गर्ने भएका छन् । नेपाल र भारतका परराष्ट्र मन्त्रालयले शनिबार एकैपटक प्रधानमन्त्रीको भारत भ्रमणको प्रारम्भिक तालिका सार्वजनिक गरेका छन् ।
प्रधानमन्त्री प्रचण्ड भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा चारदिने औपचारिक भ्रमणमा जान लागेका हुन् । १० पुसमा तेस्रोपटक प्रधानमन्त्री भएका प्रचण्डको यो पहिलो औपचारिक विदेश भ्रमण हो ।
प्रधानमन्त्रीका रूपमा प्रचण्डको यो चौथो भारत भ्रमण हो । तर, द्विपक्षीय औपचारिक भ्रमण भने तेस्रो हो । भ्रमणले नेपाल र भारतबीचको सदिऔँ पुरानो, बहुआयामिक र सौहार्दपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने अपेक्षा छ ।
भारतीय विदेश मन्त्रालयले पछिल्ला वर्षयता दुई देशबीच सहकार्यमा उल्लेखनीय प्रगति भएको भन्दै यो भ्रमणले सहकार्य थप सुदृढ हुने बताएको छ । ‘दुई देशबीच द्विपक्षीय सम्बन्ध विगत केही वर्षमा सहयोगका सबै क्षेत्रमा उल्लेखनीय रूपमा सुदृढ भएको छ । यो भ्रमणले द्विपक्षीय साझेदारीलाई थप गति दिन दुवै पक्षले दिएको महŒवलाई थप जोड दिनेछ,’ भारतीय विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा छ ।
परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री मोदीसँग नेपाल–भारत द्विपक्षीय सम्बन्धका विविध क्षेत्रका विषयमा विस्तृत छलफल हुने जनाएको छ । परराष्ट्रमन्त्री एनपी साउन, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतलगायत मन्त्री एवं परराष्ट्र, ऊर्जा, उद्योगसचिवसहितको प्रतिनिधिमण्डल दिल्ली जानेछ ।
प्रधानमन्त्री प्रचण्डले बिहीबार (१८ जेठ) भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदराबाद हाउसमा औपचारिक वार्ता गर्ने कार्यक्रम छ । ‘प्रधानमन्त्रीले सुरुमा प्रतिनिधिमण्डलस्तरीय, त्यसपछि सानो समूहमा छलफल गर्ने र त्यसपछि दुवै प्रधानमन्त्रीबीच एकान्त वार्ता गर्ने गरी तयारी भएको छ,’ उच्च कूटनीतिक स्रोतले नयाँ पत्रिकासँग भन्यो ।
वार्तामा यसपटक ऊर्जा, व्यापार, नेपाल–भारत नयाँ हवाई रुट, सीमापार रेलमार्गलगायतका विषयले प्रमुखता पाउने गरी तयारी भइरहेको छ । वार्तापछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्नेछन् ।
भ्रमणका क्रममा प्रधानमन्त्रीले भारतका राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । भारतका प्रधानमन्त्री मोदीले नेपालका प्रधानमन्त्री र उनको प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गर्नेछन् ।
प्रधानमन्त्रीले मध्य प्रदेशको उज्जैन तथा इन्दोरको भ्रमण गर्ने कार्यक्रम छ । उज्जैन भारतको धार्मिक पर्यटन र स्वच्छताको अनुपम उदाहरण हो । उज्जैनमा भारत सरकारले महाकालेश्वर मन्दिरको नयाँ करिडोर निर्माण गरेको छ । धार्मिक पर्यटनमा उज्जैनले गरेको विकासको प्रधानमन्त्री प्रचण्डले अवलोकन गर्ने कार्यक्रम छ ।
एक दशकमा नेपाल–भारत भ्रमण तालिका
दश वर्षको बीचमा भारतीय प्रधानमन्त्री मोदीले तीनपटक नेपालको राजकीय भ्रमण गरेका छन् भने दुईपटक उनी बहुपक्षीय सम्मेलन (एकपटक सार्क शिखर सम्मेलन र अर्कोपटक बिमस्टेक शिखर सम्मेलन)मा सहभागी हुन काठमाडौं आएका थिए ।
एक दशकयता प्रधानमन्त्रीका रूपमा केपी शर्मा ओली र शेरबहादुर देउवाले दुई–दुईपटक भारतको औपचारिक÷राजकीय भ्रमण गरेका छन् । प्रचण्डले पनि दुईपटक भारत भ्रमण गरेका छन्, तर औपचारिक भ्रमण एकपटक र एकपटक बिमस्टेक–ब्रिक्स नेताहरूको आउटरिच सम्मेलनमा गोआ भ्रमण गरेका छन् ।
भारतबाट मोदीले २०१४ अगस्ट ३ र ४, २०१८ मे ११–१२ र २०२२ मे १६ मा नेपालको औपचारिक÷राजकीय भ्रमण गरे । मोदी २०१४ नोभेम्बर २६–२७ मा सार्क शिखर सम्मेलन तथा २०१८ अगस्ट ३०–३१ मा बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुन नेपाल आएका थिए । भ्रमणहरूकै बीचमा मोदीले जनकपुर, मुक्तिनाथ र लुम्बिनीमा तीर्थयात्रा गरिसकेका छन् । नेपालबाट तत्कालीन प्रधानमन्त्री सुशील कोइराला मोदीको शपथग्रहणमा गएका थिए ।
ओलीले २०१६ फेब्रुअरी १९–२२ र २०१८ अप्रिल ६–८ मा भारतको राजकीय भ्रमण गरेका थिए । देउवाले २०१७ अगस्ट २३–२७ तथा २०२२ अप्रिल १–३ मा भारतको औपचारिक÷राजकीय भ्रमण गरेका थिए । प्रचण्डले २०१६ सेप्टेम्बर १५–१८ मा भारतको राजकीय भ्रमण तथा २०१८ अगस्ट ३०–३१ मा बिमस्टेक ब्रिक्स आउटरिच सम्मेलनमा गोआ भ्रमण गरेका थिए ।
दश वर्षयता भारतीय राष्ट्रपतिको तहमा एउटा र नेपालको राष्ट्रपतिको तहमा दुईवटा औपचारिक भ्रमण भएका छन् । भारतबाट तत्कालिन राष्ट्रपति प्रणव मुखर्जीले नेपालको भ्रमण गरेका छन् भने नेपालबाट तत्कालीन राष्ट्रपति डा रामवरण यादव र विद्यादेवी भण्डारीले भारत भ्रमण गरेका छन् ।
प्रधानमन्त्रीले दिए भ्रमणका एजेन्डाबारे संसद्लाई जानकारी
प्रधानमन्त्री प्रचण्डले आसन्न भारत भ्रमणका एजेन्डाबारे सदनलाई जानकारी गराएका छन् । सांसदको सवालमा जवाफ दिँदै प्रधानमन्त्रीले भने, ‘१९५० को सन्धि र सिमानाको विषय संवादको माध्यमबाट समाधान गर्ने ढंगले उठ्छ । इपिजीमा छलफल हुन्छ । पञ्चेश्वरबारे सकारात्मक छलफल चलिराखेकाले अगाडि बढाउनेबारे नयाँ समझदारी हुन्छ । एयर रुट लिनेबारे गम्भीर छलफल चलेको र नयाँ रुट पाउने प्रबल सम्भावना छ । ट्रेड ट्रान्जिटबारे समझदारी हुन्छ । मल कारखाना स्थापना गर्नेबारेमा ठोस कुरा हुन्छ ।’
लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो भन्ने सरकार प्रस्ट रहेको भन्दै थाती रहेका सीमासम्बन्धी विषयलाई ऐतिहासिक सन्धि, नक्सा, तथ्य–प्रमाणका आधारमा कूटनीतिक पहलबाट समाधान गर्न सरकार दृढ र प्रतिबद्ध रहेको उनको भनाइ थियो ।
यसअघिका दुई भ्रमण
प्रचण्डले पहिलोपटक प्रधानमन्त्रीका रूपमा २०६५ भदौ २९ देखि असोज २ सम्म (२००८ सेप्टेम्बर १४ देखि १८ ) भारतको औपचारिक भ्रमण गरेका थिए । त्यसबेला दिल्लीबाहेक उनी बेंग्लोरको भ्रमणमा गएका थिए । पहिलोपटक प्रचण्ड भारतीय तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहको निमन्त्रणामा भारत गएका थिए ।
प्रचण्डले दोस्रोपटक प्रधानमन्त्री हुँदा ०७३ भदौ ३० देखि असोज २ (२०१६ सेप्टेम्बर १५ देखि १८ सम्म भारतको राजकीय भ्रमण गरेका थिए । त्यसवेला उनले हिमाचल प्रदेश र उत्तराखण्डको हरिद्वार भ्रमण गरेका थिए । प्रचण्ड र मोदीबीचको भेटमा द्विपक्षीय संयन्त्रको बैठक नियमित रूपमा राख्न सम्बन्धित अधिकारीलाई निर्देशन दिइएको थियो ।
प्रधानमन्त्री प्रचण्ड ०७३ असोज २९ देखि कात्तिक १ सम्म ब्रिक्स तथा बिमस्टेक नेताहरूको आउटरिच सम्मेलनमा सहभागी हुन भारतको गोआ गएका थिए । प्रधानमन्त्रीका रूपमा उनको तेस्रो भ्रमण भए पनि भारतको द्विपक्षीय औपचारिक भ्रमण थिएन । त्यही वेला प्रचण्ड, भारतीय प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भएको त्रिपक्षीय अनौपचारिक भेटघाटले चर्चा कमाएको थियो ।
उच्च चिनियाँ नेता आउँदै
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको पूर्वसन्ध्यामा चीनबाट चिनियाँ कम्युनिस्ट पार्टीका शीर्ष नेता आगामी साता नेपाल आउँदै छन् । चिनियाँ कम्युनिस्ट पार्टी सिचुआन प्रदेशका सेक्रेटरी वाङ सियाहुई नेतृत्वको प्रतिनिधिमण्डल मंगलबार काठमाडौं आउनेछ । चिनियाँ प्रतिनिधिमण्डलले प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा तथा केही मन्त्रीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । चिनियाँ राजदूतावास स्रोतले भ्रमणका लागि सम्बद्ध निकायबीच समन्वय भइरहेको र एउटा प्रवद्र्धन कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया