चीनको दोहोरो नीतिका कारण नेपाली पर्यटन व्यवसायीहरु मर्कामा

चर्को रकम धरौटी राख्ने चिनियाँ प्रावधान प्रति नेपाली व्यवसायीहरुको आपत्ती

काठमाडौं, २९ वैशाख । चीनद्धारा कब्जा गरिएको तिब्बतमा रहेका हिन्दुहरुको पवित्र धर्मस्थल कैलाश मानसरोबरमा पर्यटकहरुलाई लैजाने नेपाली व्यवसायीहरुलाई ठूलो रकम अनिवार्य रुपमा धरौटी राख्नुपर्ने जस्ता नियमको नेपाली पर्यटन व्यवसायीहरुले आपत्ति जनाए ।
तिब्बतको विभिन्न पर्यटकिय क्षेत्र सहित कैलाश मानसरोवरमा पर्यटकहरुलाई लैजान नेपाली व्यवसायीहरुलाई ८० लाख धरौटी रकम अनिवार्य रुपमा राख्नुपर्ने नियम प्रति नेपाली पर्यटन व्यवसायीहरुले आपत्ती जनाएका हुन् ।
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान), एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) र एसोसिएसन अफ कैलाश टुर अपरेटर्स नेपाल (एक्टोन) ले मंगलबार काठमाडौं स्थित चिनियाँ दूतावास र बेइजिङ स्थित नेपाली दूतावासलाई संयुक्त रुपमा पत्र पठाउदै कोभिड–१९ को महामारी पश्चात ३ बर्षपछि सुरु भएको तिब्बत र कैलाश मानसरोबरको यात्रामा सहजीकरण गरिदिन आग्रह गरे ।
कोभिडका कारण तीन वर्षसम्म बन्द रहेको कैलाश मानसरोबरको यात्रा र तिब्बत भ्रमण हालसालै चीनले आम पर्यटकहरुका लागि खुला गरेको छ । तर, त्यहाँ टुर सञ्चालन गर्दै आइरहेका नेपाली पर्यटन व्यवसायीहरूले तीर्थयात्रीहरूको परमिट जारी गर्ने तिब्बत स्वशासित क्षेत्रमा रहेको फरेन एक्सचेन्ज सेन्टरले भारतीय तीर्थयात्रीलाई कैलाश मानसरोबर यात्रा सञ्चालन गराउने नेपाली व्यवसायीहरूले ६० हजार अमेरिकी डलर (करिब ८० लाख रुपैयाँ) अनिवार्य डिपोजिट गर्नुपर्ने बाध्यात्मक अवस्था सृजना गरेपछि त्यसप्रति आपत्ति व्यक्त गर्दै यो नेपालकै कानुन विपरीत रहेकाले सहजीकरण गरिदिन चीन संग माग गरेका छन् ।
‘यो नियम नेपालका लागि वर्तमान आर्थिक अवस्था र नेपाल राष्ट्र बैंकको निति विपरीत पर्यटन व्यवसायीहरुको राय रहेको छ,’ नाट्टाको नेतृत्व सम्हालिसकेका एक पर्यटन व्यवसायीले भने, ‘अहिलेको राष्ट्र बैंकको नीतिअनुसार कुनै पनि विदेशी बैंकमा रकम जम्मा गर्न पाइँदैन । यसले कोभिडका कारण थलिएको नेपाली पर्यटन क्षेत्रलाई अत्यन्तै ठूलो मर्का पर्ने भएको छ, उनले भने ।’
पर्यटन व्यवसायीहरुले चिनियाँ राजदूत छन् सोङलाई लेखेको पत्रमा ८० लाख धरौटीको प्रावधान सहित ६ वटा विषयमा ध्यानाकर्षण गराएका छन् । उनीहरूले तिब्बतको ल्हासा टुर र कैलाश मानसरोबर यात्रा सञ्चालनमा बाधा गर्ने अर्को नियम बायोमेट्रिक रहेको उल्लेख गरेका छन् । अहिले तिब्बतको भिसा लिनका लागि बायोमेट्रिक अनिवार्य गरिएको छ । पहिले समूहमा यात्रा परमिट दिइन्थ्यो । व्यवयासीहरूले बायोमेट्रिक काठमाडौं स्थित दूतावासमा नगराई चीनको सिमानामा गर्नुपर्ने माग राखेका छन् ।
त्यस्तै चीनले भारतीय तथा तेस्रो मुलुकबाट नेपाल हुँदै तिब्बत भम्रणमा सहयोगी भई जाने नेपालीलाई चर्को भिसा शुल्क लिने गरेकाले यसलाई पनि सम्बोधन गर्न ज्ञापनपत्रमा उल्लेख गरिएको छ । उनीहरूले चिनियाँ राजदूतलाई नेपाल सरकारले चिनियाँ नागरिकलाई काठमाडौंमा छुट दिएको स्मरण गराउँदै यसमा सहजीकरण गरिदिन आग्रह गरेका हुन् ।
त्यस्तै भारतीय तीर्थयात्रीको भिसाको सम्बन्धमा दिल्लीबाट भिसा लिन झन्झटिलो प्रक्रिया भएकाले नेपालको दूतावासबाट भिसा दिन माग गरेका छन् । यस्तै चीनले अहिले भिसा लिन कम्तीमा ४–५ जनाको समूह हुनुपर्ने नियम ल्याएको छ । यसलाई व्यवसायीहरूले अव्यावहारिक भएको ठहर गर्दै त्यस्ता प्रावधानलाई हटाउनुपर्ने र १ वा २ जनाको समूहलाई पनि भिसा दिनुपर्ने माग राखेका छन् ।
तेस्रो मुलुकको दाँजोमा तिब्बत जाने भारतीयलाई बढी शुल्क लिइने नियमले विभेद भएको जनाउँदै उनीहरूले सबै पर्यटकको भिसा शुल्कमा एकरुपता गर्न माग नेपाली पर्यटक व्यवसायीहरुले गरेका छन् ।