बेलायती राजा चार्ल्स तृतीयको राज्याभिषेकमा सहभागी हुन उपराष्ट्रपति धनखर बेलायत प्रस्थान

नयाँ दिल्ली, एजेन्सी । बेलायती राजा चार्ल्स तृतीयको राज्याभिषेकमा सहभागी हुन भारतीय उपराष्ट्रपति जगदीप धनखर शुक्रवार बिहान बेलायतको राजधानी लण्डनतर्फ प्रस्थान गरेका छन् ।
शनिवार राजा चार्ल्सको राज्याभिषेक हुँदैछ । दुईदिने बेलायत भ्रमणका क्रममा उनले राज्याभिषेक समारोहमा सहभागी हुने विश्वका विभिन्न सरकार एवम् राष्ट्र प्रमुखसँग सामूहिक भेट गर्ने कार्यक्रम रहेको छ ।
समारोहमा विश्वका करिब दुई हजार विशिष्ट व्यक्ति सहभागी हुनेछन् । उपराष्ट्रपतिका साथ उनकी धर्मपत्नी सुदेश धनखर पनि लण्डन प्रस्थान गरेकी छिन् ।
बेलायत सरकारले भारत लगायत अन्तर्राष्ट्रिय समुदायलाई राज्याभिषेक समारोहमा आमन्त्रण गरेको छ । वेस्टमिनिष्टर गिर्जाघरमा धार्मिक विधिपूर्वक राजा चार्ल्स तृतीय र रानी क्यामिलाको राज्याभिषेक हुनेछ ।
राज्याभिषेकमा उपस्थित हुन पाउनु भारतका निम्ति सम्मानको अवसर भएको बताउँदै त्यसबाट भारत र बेलायत बीचको सम्बन्धलाई अझ प्रगाढ तुल्याउन मद्दत पुग्ने कूटनीतिक अधिकारीहरूले बताएका छन् ।
गत वर्ष महारानी एलिजावेथ द्वितीयको निधनपछि राजा चार्ल्सले राजसिंहासन सम्हालेका हुन् । सत्तरी वर्षअघि महारानी एलिजावेथको राज्याभिषेक भएको थियो । भोलिको राज्याभिषेकलाई बेलायतभर राष्ट्रिय उत्सवका रुपमा मनाइदैछ ।