काबुल विमानस्थलमा बम आक्रमणका योजनाकार आइएस नेता तालिबानबाट मारिए
१३ बैशाख २०८०, बुधबार

तालिबानबाट इस्लामिक स्टेटका एक जना योजनाकार मारिएको अमेरिकी अधिकारीहरूले बताएका छन्।
तालिबानले सत्ता लिएपछि सन् २०२१ मा अफगानिस्तान छाडेर जान काबुल विमानस्थलमा कैयौं मानिसहरू भेला भएको ठाउँमा बम प्रहार भएको थियो।
अमेरिकी अधिकारीहरूले १७० जना सर्वसाधारण र १३ अमेरिकी सेनाको ज्यान जाने गरी भएको उक्त बम आक्रमणका मुख्य योजनाकार दुई साताअघि मारिएको बताएका छन्।
उनी मारिएको निश्चित गर्न समय लागेको बताइएको छ र उनको नाम हालसम्म सार्वजनिक गरिएको छैन।
अमेरिकी अधिकारीहरूले गुप्तचर सूचना र उक्त क्षेत्रको अनुगमनबाट आइएसका ती नेता मारिएको ठहर गरिएको बताएका छन्।
उक्त बम आक्रमणमा उनको संलग्नताबारे थप विवरण पनि अधिकारीहरूले खुलाएका छैनन्।
न्युयोर्क टाइम्समा प्रकाशित एक विवरणअनुसार अमेरिकाले उनको मृत्युबारे अप्रिलको सुरूमै थाहा पाएको थियो। तर, उनी तालिबानको निशानामा मारिएको वा आइएस र तालिबानीबीच जारी द्वन्द्वमा भन्ने प्रष्ट नभएको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ।
सोमबार अमेरिकाले उक्त बम आक्रमणमा मारिएका सैनिकहरूको परिवारलाई आइएस नेताको मृत्युबारे जानकारी गराउन सुरू गरेको थियो।
उक्त बम आक्रमणमा मारिएका अमेरिकी जल सेनामा कार्यरत टेलर हुभरका पिता डरिनले जलसेनाले आफूलाई उक्त समाचारबारे जानकारी दिएको बताएका छन्।
आइएसको अफगानिस्तान शाखाले आक्रमणको चेतावनी दिएपछि पश्चिमी देशका सरकारहरूले आफ्ना नागरिकहरूलाई काबुल अन्तर्राष्ट्रिय विमानस्थलबाट टाढै रहन चेतावनी दिएलगत्तै विमानस्थलमा विस्फोट भएको थियो।
विमानस्थलको गेट बाहिर परिवारका सदस्यलाई पर्खिरहेका मानिसहरूको भिडमा एक जना आत्मघाती आक्रमणकारी प्रवेश गरेर विस्फोट गराएका थिए।
अफगानिस्तानबाट फिर्ता हुँदै गरेका अमेरिकी सैनिकहरूको उद्धार उडानमा समावेश गराइने आशामा उक्त क्षेत्रमा ठूलो भिड लागेको थियो।
त्यसको एक दिनपछि अमेरिकाले काबुलमा आत्मघाती बम हमलाकारीलाई लक्षित गर्दै गरेको ड्रोन आक्रमणमा सात जना बालबालिकासहित १० जना सर्वसाधारण मारिएका थिए।
अमेरिकाले आइएसको अफगानिस्तान शाखाका नेता अनाउल्लाह गफारीलाई पक्राउ गर्र्ने वा उक्त बम आक्रमणमा संलग्नलाई पक्राउ गर्नेलाई १० लाख अमेरिकी डलर इनाम दिने घोषणा गरेको थियो।
अफगानिस्तानबाट अमेरिकी सैनिकहरू फिर्ता भएसँगै त्यहाँ जारी सबैभन्दा लामो युद्ध समाप्त भएको थियो।
अमेरिकी सेना फिर्ता भएसँगै अफगानिस्तानमा उसले दुई दशकदेखि समर्थन गरेको सरकार ढलेर पुनः तालिबान सत्तामा फर्किएको थियो।
फेसबुकबाट तपाईको प्रतिक्रिया