चीनको दाबी – पछिल्लो त्रैमासिकमा अर्थतन्त्रमा ४.५ प्रतिशतको वृद्धि

एजेन्सी – चीनले पछिल्लो त्रैमासिकमा आफ्नो अर्थतन्त्रले ४.५ प्रतिशतको वृद्धि हासिल गरेको बताएको छ । चीनले कोभिड प्रतिबन्धहरू खुकुलो पारेपछि आफ्नो अर्थतन्त्रले गति लिएको र विज्ञहरूको अनुमानलाई गलत देखाउँदै ४.५ प्रतिशत वृद्धि भएको बताएको छ । यसअघिको अनुमानमा अर्थतन्त्र २ दशमलव ९ प्रतिशतले मात्रै वृद्धि हुने बताइएको थियो । डिसेम्बरमा, चीनले कार्यस्थलहरूमा पछिल्लो तीन वर्षदेखि लागू गरिँदै आएको कोभिड प्रतिबन्ध अन्त्य गरेको थियो ।

प्रतिबन्ध अन्त्य भएपछि खुद्रा बिक्री र औद्योगिक उत्पादनमा वृद्धि भएको छ । चीनले सन् २०२३ मा पाँच प्रतिशत वृद्धि हासिल गर्ने अपेक्षा गरेको छ ।

गत वर्ष चीनको अर्थतन्त्र वृद्धिको हिसाबले लक्ष्यभन्दा धेरै पछाडि थियो । विश्वका धेरै अर्थतन्त्र सुस्त अवस्थामा रहेको बेला चीनले ४ दशमलव ५ प्रतिशतको आर्थिक वृद्धि हासिल गरेको दाबी गरेको छ ।