युक्रेनी प्रथम उपविदेशमन्त्री झापारोभा भारत भ्रमणमा आज नयाँ दिल्ली आउदै

नयाँ दिल्ली, एजेन्सी । रुस युक्रेन युद्धकै बीचमा अन्तरराष्ट्रिय समर्थन जुटाउने क्रममा युक्रेनको प्रथम उपविदेश मन्त्री एमिने झापारोभा आईतवार भारतको भ्रमणमा आउने लागेकी छिन् ।
रुसले युक्रेनमाथि आक्रमणलाई तिव्र बनाउदै गएपछि भारतको भ्रमण गर्ने पहिलो युक्रेनी मन्त्री हुन् ।
नयाँ दिल्लीमा रहँदा उपविदेशमन्त्री झापरोभाले विदेश मन्त्रालयका वरिष्ठ अधिकारी सँग युक्रेनको वर्तमान अवस्थाका बारेमा विचार आदान प्रदान गर्ने भारतको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
युक्रेनसँगको भारतको मैत्रीपूर्ण सम्बन्ध तथा साझा चासोका विषयमा बहुपक्षीय एवम् द्विपक्षीय मञ्चहरूमा सहकार्य हुँदै आएको उल्लेख गर्दै विज्ञप्तिमा उपविदेशमन्त्रीको यो भ्रमण आपसी समझदारी र चासोका मामिलामा छलफल गर्न महत्वपूर्ण अवसर हुने बताइएको छ । उनले प्रधानमन्त्री नरेन्द्र मोदी वा सरकारका मन्त्रीहरूलाई भेट्नेबारेमा विज्ञप्तिमा केही उल्लेख गरिएको छैन ।
गत वर्ष भारतीय प्रधानमन्त्री मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई ‘यो युद्धको समय’ नभएको बताएका थिए । रुसको लामो समयदेखिको सहयोगी मानिने भारतले आगामी जुलाईमा आयोजना गर्ने साङ्घाई सहयोग सङ्गठनको शिखर सम्मेलनमा भाग लिने अपेक्षा गरिएको छ ।