चिनियाँ ब्यापारीलाई समस्यामा पार्ने सरकारको नीति
२७ चैत्र २०७९, सोमबार

काठमाडौँ — चीन सरकारले सन् २०२२ मा आजकै दिन अर्थात् अप्रिल १० मा अलिबाबालाई १८ अर्ब २० करोड चिनियाँ युआन जरिवाना तिराएको थियो । ई–कमर्स क्षेत्रको शक्तिशाली कम्पनी अलिबाबामाथि एकाधिकार नियमहरू उल्लंघन गरेको भन्दै चीन सरकारले २ अर्ब ८० करोड अमेरिकी डलर जरिवाना तिराएको हो ।
उक्त रकम चीनमा कुनै पनि कम्पनीमाथि भएको हालसम्मकै सबैभन्दा ठूलो जरिवाना हो ।
त्यसअघि २०१५ मा अमेरिकी चिप निर्माता कम्पनी क्वालकमले ९७ करोड ५० लाख डलर जरिवाना तिरेको थियो । क्वालकममाथि चीनमा प्रतिस्पर्धा रोक्ने कार्यमा अवरोध पुर्याएको आरोप लागेको थियो । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार अलिबाबाले २०१९ मा गरेको आम्दानीको करिब ४ प्रतिशत जरिवाना बुझाएको थियो ।
चीनको बजार नियमनकारी निकाय स्टेट एडमिनेस्ट्रेसन फर मार्केट रेगुलेसन (एसएएमआर) २०२१ को डिसेम्बरमा अलिबाबामाथि अनुसन्धान सुरु गरेको थियो । एसएएमआरका अनुसार अलिबाबाले चीनको ‘एन्टी–मोनोपोली’ कानुन उल्लंघन गरेको हो । जरिवाना तिराउने चीन सरकारको निर्णयसँगै अलिबाबाले एसएएमआरको निर्णय मान्ने र व्यावसायिक सुधार गर्दै जाने प्रतिबद्धता जनाएको थियो ।
चीनको सबैभन्दा ठूलो अनलाइन सपिङ पोर्टलका रूपमा स्थापित अलिबाबामाथि चिनियाँ अधिकारीहरूले लामो समयको अनुसन्धान र छानबिनपछि जरिवाना तिराइएको बताएका थिए । अलिबाबा चिनियाँका लागि सामान खरिद र ढुवानीका लागि निकै भरपर्दो र लोकप्रिय माध्यम बनेको छ । कम्पनीका संस्थापक अर्बपति व्यापारी ज्याक माले २०२१ को अक्टोबरमा चिनियाँ नियामक निकायका गतिविधिमाथि कडा आलोचना गरेका थिए ।
त्यसयता उनी र उनका व्यवसाय सरकारी निकायको आँखाका तारो बनेका थिए । उक्त आलोचनापछि चिनियाँ वित्तीय नियामक निकायहरूले अलिबाबाको अनलाइन भुक्तानीसम्बन्धी सहायक कम्पनी ‘एन्ट ग्रुप’ ले सार्वजनिक गर्न लागेको ३५ अर्ब डलरको हङकङ–सांघाई प्रारम्भिक सेयर निष्कासन रोकिदिएका थिए । त्यसको केही समयपछि सार्वजनिक जीवनबाट अलग भएका ज्याक दुई साताअघि चीनको हाङझाउमा देखिएका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया