बेइजिङमा चीनका विदेशमन्त्री छिनसँग परराष्ट्र सचिव पौड्यालको भेट

चैत २३ ,
चीन भ्रमणमा रहेका परराष्ट्र सचिव भरतराज पौड्यालले चिनियाँ परराष्ट्र मन्त्री छिन काङसँग बिहीबार दिउँसो बेइजिङमा भेट गरेका छन्।

नेपाल–चीन द्विपक्षीय कूटनीतिक परामर्श संयन्त्रको बैठकमा भाग लिन बेइजिङ पुगेका परराष्ट्र सचिव पौड्यालले चिनियाँ परराष्ट्रमन्त्री समेत रहेका स्टेट काउन्सिलर छिनसँग भेटवार्ता गरेका हुन्।

छिन स्टेट काउन्सिलर तथा परराष्ट्रमन्त्री भएपछि नेपाली अधिकारीसँग भएको यो पहिलो भेट हो। चीनका लागि अमेरिकाको राजदूत रहेका छिनलाई राष्ट्रपति सी चिनफिङले गत डिसेम्बरमा चीनको विदेश मामिला हेर्ने सो पदमा नियुक्त गरेका थिए।

बेइजिङस्थित नेपाली राजदूतावासले जनाए अनुसार भेटमा नेपाल–चीनबीच लामो समयदेखि चल्दै आएको द्विपक्षीय सम्बन्ध र सहयोगलाई अझ सुदृढ बनाउने, भ्रमण आदानप्रदान, विकास सहयोग, व्यापार, लगानी र पर्यटनलगायतका विषयमा छलफल भएको थियो ।

सो भेटमा चीनका लागि नेपालका राजदूत विष्णु पुकार श्रेष्ठ, नेपालको परराष्ट्र मन्त्रालय अन्तर्गत चीन मामिला हेर्ने उत्तर–पूर्वी महाशाखा प्रमुख सहसचिव लोकबहादुर थापा लगायत दुबै मुलुकमा परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीको उपस्थिति थियो।

नेपाल–चीनबीच शुक्रबार द्विपक्षीय कूटनीतिक परामर्श संयन्त्रको १५औँ बैठक बेइजिङमा हुँदैछ। परराष्ट्र् सचिव सहितको नेपाली टोली सोही बैठकमा सहभागी हुन बुधबार बेइजिङ पुगेको हो।