प्रधानमन्त्री प्रचण्ड वैशाख पहिलो साता भारत जाँदै

चैत १६

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैशाख पहिलो साता भारतको राजकीय भ्रमण गर्ने गरी तयारी सुरु भएको छ । भारतीय विदेशसचिव विनयमोहन क्वात्राको नेपाल भ्रमणका वेला राष्ट्रपतिको निर्वाचनलगत्तै प्रधानमन्त्रीको भारत भ्रमण हुनेबारे छलफल भएको थियो । भ्रमणबारे परराष्ट्र मन्त्रालयले सरोकारवाला मन्त्रालयहरूसँग राय मागेको छ ।

परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले प्रधानमन्त्रीको भारत भ्रमणका लागि आन्तरिक गृहकार्य भइरहेको बताइन । प्रधानमन्त्रीले भारतमा उठाउनुपर्ने एजेन्डाबारे सरोकारवाला मन्त्रालयहरूसँग परराष्ट्रले समन्वय थालेको छ । बालुवाटार स्रोतले पनि भ्रमणको तयारी भइरहेको जनाएको छ । ‘मन्त्रिपरिषद् विस्तारपछि भारतबाट निमन्त्रणाको औपचारिकता आउँछ भन्ने छ । भ्रमणका लागि तयारी सुरु भइसकेको छ,’ स्रोतले भन्यो, ‘वैशाख पहिलो साता भारत भ्रमण गर्ने गरी तयारी भइरहेको छ । दुवैतिर समन्वय गरेर मिति तय गर्ने र भारतबाट त्यहीअनुसार निमन्त्रणापत्र पठाउने भन्ने छ ।’

प्रधानमन्त्री प्रचण्डले पनि भारत भ्रमणमा जाने सार्वजनिक गरिसकेका छन । प्रधानमन्त्री भएलगत्तै प्रचण्डलाई भारतीय विदेशसचिव क्वात्राले टेलिफोन गरेर बधाई दिँदै भारत भ्रमणका लागि भारत सरकारका तर्फबाट प्रस्ताव गरेका थिए । त्यसपछि प्रचण्डले एउटा भारतीय टेलिभिजनमा र बालुवाटारमा सम्पादकहरूसँगको भेटमा पहिलो विदेश भ्रमण भारतमा हुने बताएका थिए ।

प्रधानमन्त्री प्रचण्डलाई भारतीय समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको बधाई सन्देश १५ पुसमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बालुवाटार पुगेर हस्तान्तरण गरेका थिए । भारतीय प्रधानमन्त्री मोदी २ जेठ ०७९ मा लुम्बिनी भ्रमणमा आउँदा उनले निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवालाई भारत भ्रमणको निमन्त्रणा दिएका थिए । त्यसअनुसार कूटनीतिक भाषामा भारतबाट प्रधानमन्त्रीको भ्रमणका लागि निमन्त्रणा भइसकेको छ । ‘वास्तवमा दुई पक्षको आपसी अनुकूलता हुने गरी मिति तोक्ने मात्रै काम बाँकी हो । नेपालका प्रधानमन्त्रीलाई भारतका प्रधानमन्त्रीका तर्फबाट निमन्त्रणा त्यसवेलै आएको हो । तर, औपचारिकताका लागि फेरि पनि निमन्त्रणा आउँछ, गृहकार्य गर्न त्यसले बाधा पुग्दैन भन्ने हाम्रो बुझाइ हो,’ स्रोतले भन्यो ।

प्रचण्डले ३१ असारमा माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्रीको हैसियतमा भारतको औपचारिक भ्रमण गरेका थिए । भारतीय जनता पार्टीका अध्यक्ष जगतप्रकाश नड्डाको निमन्त्रणामा गएका उनले नड्डासँगै भारतीय विदेशमन्त्री डा. एस. जयशंकर, भारतीय विदेशसचिव विनयमोहन क्वात्रालगायतका अधिकारीसँग भेटवार्ता गरेका थिए ।