भुटानी प्रधानमन्त्रीको भारतबारे ‘विवादास्पद अभिव्यक्ति’पछि भुटानी राजा भारत भ्रमणमा

काठमाडौं । भुटानका राजा जिग्मे खेसर नामग्याल वाङचुक अप्रिल ३ देखि ५ सम्म भारतको औपचारिक भ्रमणमा जाने भएका छन् ।

उबका साथमा परराष्ट्र तथा वैदेशिक व्यापार मन्त्री डा. टाण्डी दोर्जी र भुटानको शाही सरकारका वरिष्ठ अधिकारीहरु पनि रहनेछन् । भ्रमणका क्रममा उनले राष्ट्रपति द्रौपदी मुर्मु र प्रधानमन्त्री मोदीसँग भेट गर्नेछन् ।

समाचार एजेन्सी एएनआईका अनुसार यो जानकारी भारतीय विदेश मन्त्रालयले दिएको हो ।

भुटानका प्रधानमन्त्री लोटे क्रिङले आफ्नो भर्खरैको अन्तर्वार्तामा डोकलामबारे भुटानको अडानमा कुनै परिवर्तन नभएको स्पष्ट पारेका छन् ।

प्रधानमन्त्रीले त्यहाँको ‘द भुटानीज’ पत्रिकालाई अन्तर्वार्ता दिएका हुन् । यसअघि उनले बेल्जियमको अखबार ‘ला लेब्रे’लाई दिएको अन्तर्वार्तामा भारतको तनाव बढ्न सक्ने बताएका थिए ।

सन् २०२० मा यस्ता धेरै रिपोर्ट आएका थिए जसमा चीनले भुटानको सिमाना भित्र एउटा गाउँ बनाइरहेको बताइएको थियो । तर ‘ला लेब्रे’लाई दिएको अन्तर्वार्तामा लोटे क्रिङले चीनले बनाएका गाउँ भुटानभित्र नभएको बताएका छन् ।

भुटानका प्रधानमन्त्री हालै बेल्जियम गएका थिए र त्यहाँ उनले यो अन्तर्वार्ता दिएका हुन् ।

फ्रान्सेली भाषाको अखबार ‘ला लेब्रे’लाई दिएको अन्तर्वार्तामा भुटानी प्रधानमन्त्रीले भने, “हामीले कुनै अतिक्रमण नभएको स्पष्ट रूपमा भनेका छौं।”

“यो अन्तर्राष्ट्रिय सिमाना हो र हाम्रो हिस्सा कति छ, मलाई थाहा छ। भुटानमा चिनियाँ निर्माणबारे मिडियामा विभिन्न कुराहरू भइरहेका छन्। तर यो निर्माण भुटानमा नभएकाले हामी यसमा चिन्तित छैनौं।”