सरकारले बीआरआई परियोजना तीव्रता का साथ अघि बढाउनुपर्छ ः प्रदीप ज्ञवाली

चैत २
नेकपा एमालेका उपमहासचिव एवम् पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनाको कामलाई तीव्र गतिका साथ अघि बढाउन सरकारलाई आग्रह गरेका छन् ।

भूराजनीतिक इस्यूहरुका कारण सो परियोजनाको काम अघि बढाउने कुरामा समस्या देखिएको उल्लेख गर्दै उनले अब सरकारले त्यसलाई छिटो भन्दाछिटो अघि बढाउनुपर्ने बताए ।
उनले भने, ‘ ‘बीआरआई अघि बढन नसक्नुमा भूराजनीतिक इस्यूहरुले पनि कहिलेकाही काम गरेको मैले देखेको छु । त्यसो भएर बीआरआईबाट लाभान्वित हुन नेपाल आफैं अग्रसर हुनु पर्छ भन्ने मलाई लाग्दछ । हामीले जतिछिटो यी कनेक्टिभिटीमा हाम्रा प्रस्तावहरुलाई कार्यान्वयनमा ल्याउन सक्छौं, त्यति छिटो नेपाल त्यसबाट लाभान्वित हुन सक्छ ।’

बिहीबार काठमाडौंमा आयोजित ‘चाईना बेल्ट एण्ड रोड इनिसिएटिभमा १० वर्षः नेपालको अनुभव’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उपमहासचिव ज्ञवालीले सो परियोजनालाई अघि बढाउन का लागि सरकारले अव चीनसँग फण्डिङ मोडालिटीको बारेमा तत्काल छलफल गर्नुपर्ने आवश्यक्ता समेत औंल्याए ।
उनले भने, ‘सरकारलाई उपप्रधानमन्त्री मार्फत मेरो आग्रह पनि छ–प्रस्तावित हाम्रा जतिपनि योजनाहरु छन्। तिनको कम्तिमा आधारभूत डकुमेन्टहरु सेयर गर्ने, पेश गर्ने, अव फण्डिङ मोडालिटीको विषयमा पनि चीनसँग बसेर कुरा गर्ने बेला भयो भन्ने मलाई लाग्दछ ।’

सो परियोजनाबाट लाभान्वित हुन नेपाल आफैं अग्रसर हुनुपर्ने उनको भनाई थियो । उपमहासचिव ज्ञवालीले चीनले बाह्य मुलुकसँग हस्तक्षेप नगर्ने कुरालाई स्पष्ट पार्दै आएको उल्लेख गर्दै त्यसप्रति नेपाल गम्भिर बन्नुपर्ने बताए । उनले नेपालले विकासमा फड्को मार्ने हो भने पनि सो परियोजनाको कामलाई छिटो अघि बढाउन उपयुक्त हुने धारणा राखे ।

उनले भने, ‘चीनले भन्ने गरेको छ–बाह्य हस्तक्षेपको पीडा छ भन्ने कुरामा हामी आफैंले भोग्दै आएका छौं । चीनको यो भनाईलाई हामीले मित्र राष्ट्रको हैसियताले गम्भिरतापूर्वक लिनु पर्दछ । नेपालको विकासमा फड्को मार्ने हो भने बीआरआई महत्वपूर्ण परियोजना हो भन्ने मलाई लाग्दछ।
उपमहासचिव ज्ञवालीले नेपालको विकासका अपेक्षाहरु पूरा गर्न पनि बीआरआई परियोजनाले महत्वपूर्ण योगदान पु¥याउने तर्क गरे ।

कार्यक्रममा बोल्दै नेपालका लागि चिनियाँ राजदुत छन् सोङले नेपालको विकासमा बीआरआई परियोजना महत्वपूर्ण अवसर हुने बताए । उनले नेपालको पूर्वाधार विकासमा चीनले सहयोगका हातहरु थप अघि बढाउन चाहेको पनि बताए । राजदूत छन्ले बीआरआईमा चीनको सहयोगमा कुनै पनि परिवर्तन नभएको प्रस्ट पारे । ‘बीआरआई पूर्णरुपमा खुला, समावेशी र पारदर्शी छ । बीआरआई सहकार्यको लागि हो,’ उनले भने, ‘अब उच्चस्तरीय बीआरआई सहकार्यमा जान्छौं । बीआरआई कुनै पनि भूराजनीतिक उपकरण होइन ।’
चिनियाँ राष्ट्रपति सी चिनफिङले सन् २०१३ मा वान बेल्ट वान रोड अवधारणालाई अघि बढाएका थिए । जसलाई सन् २०१५ मा आएर बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) नाम दिइयो ।
नेपालले सन् २०१७ को मे मा उक्त बीआरआईको दस्तावेजमा हस्ताक्षर गरेर पक्ष राष्ट्र बनेको थियो । तर हालसम्म नेपालले बीआरआई अन्तर्गतका कुनै पनि परियोजना अघि बढाएको छैन । तर चीनले भने पोखरामा बनेको अन्तर्राष्ट्रिय विमानस्थललाई बीआरआई अन्तर्गत रहेको दाबी गरेको छ । उक्त दाबीलाई नेपाल सरकारले मानेको छैन ।