चिनियाँ राजदूतलाई स्पष्टीकरण सोध्न नेता ठाकुरको माग, पोखरा एयरपोर्टले देश टाट पल्टिने चिन्ता

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता विकाशकुमार ठाकुरले गणतन्त्रको विकल्प सुदृढ र समृद्ध गणतन्त्र नै भएको बताएका छन् ।
प्राइम टाइम टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा अन्तर्वार्ता दिँदै युवा नेता ठाकुरले अहिले गणतन्त्र शिशु अवस्थामै रहेकाले समृद्ध बनाएर जानुपर्नेमा जोड दिए । ‘दुर्गा प्रसाईंको अभियानले के परिणाम ल्याउँछ अहिले भन्न सकिन्न । तर गणतन्त्र शिशु नै छ, परिपक्व भइसकेको छ । अहिले नै व्यवस्था परिवर्तनमा जानु हतारो हुन्छ,’ उनले भने ।

नेता ठाकुरले माओवादीलाई शान्ति प्रक्रियामा ल्याएर कांग्रेसले देशलाई निकास दिएको कुरा राजावादीले बुझ्नुपर्ने बताए । कांग्रेस कसैको एजेण्डा नहिँडेको र देश हित नै सर्वोपरी ठानेर कांग्रेस हिँडेको उनले जिकिर गरे । देशलाई निकास दिन ०६२/०६३ मा सम्झौता गरेको उनले प्रष्ट पारे ।

गणतन्त्रको विकल्प समृद्ध गणतन्त्र नै भएको नेता ठाकुरले जिकिर गरे । ‘पूर्वराजा ज्ञानेन्द्रले संरक्षण गरेको राप्रपा गणतन्त्रवादी भइसक्यो । एजेण्डा बिर्सेर सरकारमा कुदिरहेको छ । धर्म निरपेक्षताका मतियारलाई जिताउन कुदिरहेको छ । कसरी राजतन्त्र आउँछ ?’ उनले प्रश्न गरे । राजाको नाम बेचेर र राजसंस्था ल्याउने भनेर कमाइ खाने भाँडो बनाएको उनको आरोप थियो ।

पोखरा एयरपोर्टले देश टाट पल्टिने चिन्ता

नेता ठाकुरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निरन्तर घाटामा रहेको भन्दै देश नै टाट पल्टिने चिन्ता व्यक्त गरे । ‘वार्षिक २ अर्ब किस्ता तिर्नुपर्छ । आम्दानी जम्मा ३० करोड मात्रै हुने देखिन्छ । कसरी चल्छ ?’ उनले प्रश्न गरे । चिनियाँ दबाबमा प्रचण्ड प्रधानमन्त्री भएका बेला हतार हतार विमानस्थल उदघाटन गरिएको भन्दै उनले प्राविधिक रुपमा तयार नहुँदै सञ्चालन गरिएको विमानस्थलका कारण यति एयरलाइन्सको विमान दुर्घटना भएको दाबी गरे । ‘रिठ्ठे डाँडा कटान भइसकेको छैन । ल्याण्ड फिल्ड साइट पनि क्लियर छैन । ढलको पनि विकास गरिएको छैन । अन्य प्राविधिक त्रुटि हुँदा हुँदै हतार हतार कुन शक्तिको आँडमा विमानस्थल चलाइयो । यसबाट भएको दुखद दुर्घटनाको जिम्मेवारी कसले लिने ?’ उनले प्रश्न गरे ।

चिनियाँ राजदूतलाई स्पष्टीकरण सोध्न माग

नेता ठाकुरले चिनियाँ राजदूत चर्को ब्याजदरमा बनेको विमानस्थललाई बीआरआई परियोजनाकै अंश भनेकोमा पनि आपत्ति जनाए । ‘पोखरा एयरपोर्ट बीआरआईको अंग होइन । यो भन्ने चिनियाँ राजदूतलाई कसले अधिकार दियो । राजदूतसँग स्पष्टीकरण माग्नुपर्छ,’ उनले भने । पोखरा एयरपोर्टको यही अवस्था रहे किस्ता तिर्न नसकेर लिलामी जाने ठाकुरको चिन्ता छ । शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला चिनियाँ परराष्ट्रमन्त्रीलाई प्रष्टरुपमा अनुदान लिए लिने तर ऋण नलिने प्रष्ट पारेको स्मरण गराउँदै ठाकुरले कम्युनिस्टहरुले देशलाई ऋणको भड्खालोमा हालेको दाबी गरे ।

राष्ट्रपतिमा पौडेल उपयुक्त

नेता ठाकुरले भावी राष्ट्रपतिमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल उपयुक्त पात्र भएको बताए । ‘रामचन्द्र पौडेल प्रजातन्त्रदेखि गणतन्त्र ल्याउन लडेको पार्टी र देशका लागि योगदान दिएको व्यक्ति हो । विगतमा एमालेबाट विद्यादेवी भण्डारीको भूमिका एउटा पार्टीको देखियो । पार्टीगत लाइन समातेर संसद विघटनदेखि अन्य गतिविधि गर्दा विश्वास टुटेको छ । स्वतन्त्र र निष्पक्ष भूमिकाका लागि पौडेल उपयुक्त पात्र हुनुहुन्छ,’ उनले भने ।

ठाकुरले थपे, ‘पौडेलले देउवाको कुरा मन नपर्दा डाइरेक्ट विरोध गर्नुहुन्छ । उहाँ संविधान बाहिर पार्टीको हितमा काम गर्नुहुन्न । पार्टीको नेतृत्वलाई सम्झाउन सक्नुहुन्छ । पदको गरिमा कायम राख्न सक्नुहुन्छ ।’ प्रत्यक्ष कार्यकारी निर्वाचित राष्ट्रपति कांग्रेसको धारणा नभएको ठाकुरले बताए । केपी ओलीसँग काम गर्न अफ्ठेरो भएकाले प्रचण्ड कांग्रेसतिरै फर्केर आएको उनले बताए ।

रविको सम्पत्ति छानविन गर्न माग

नेता ठाकुरले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सम्पत्ति छानविन गर्न माग गरे । ‘रवि लामिछानेको नागरिकता छानविन भयो । सम्पत्ति पनि छानविन हुनुपर्छ,’ उनले भने । अमेरिकी नागरिक हुँदाहुँदै गृहमन्त्री हुनु विडम्बना भएको उनको भनाइ छ । नागरिकता र पासपोर्ट दिने कर्मचारीलाई पनि कारवाही गर्नपर्ने ठाकुरले माग गरे ।