चिनियाँ भाषा पठनपाठनबारे चिनियाँ प्रतिनिधि र भक्तपुरका मेयरबीच छलफल
१७ फाल्गुन २०७९, बुधबार

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरका विद्यालयहरूमा अध्यापन गराइँदै आएको चिनियाँ भाषा कक्षालाई निरन्तरता दिने विषयमा चिनियाँ प्रतिनिधिसँग छलफल गरेका छन् ।
सोमबार नगर प्रमुख सुनिल प्रजापति र त्रिभुवन विश्वविद्यालय कन्फ्युसियस इन्स्टिच्युटका चिनियाँ निर्देशक छिन लुकाओबीच नेपाली जनता र चिनियाँ जनताबीच मैत्रीपूर्ण सम्बन्ध विस्तार गर्न भक्तपुरमा चिनियाँ भाषाको कक्षा सञ्चालनलाई निरन्तरता दिने विषयमा छलफल भएको हो ।
भेटमा नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले चिनियाँ पर्यटक र चिनियाँ जनतासँग आपसी सम्बन्ध कायम गर्न विगतका वर्षहरूमा भक्तपुर नगरवासीहरूलाई चिनियाँ भाषाको प्रशिक्षण सञ्चालन गर्दै आएको र त्यसलाई निरन्तरता दिने बताए ।
चीन सरकारले कोरोना महामारीका बेला नेपाल मजदुर किसान पार्टी र भक्तपुर नगरपालिकालाई आवश्यक स्वास्थ्य उपकरण सहयोग गरेकोमा हार्दिक कृतज्ञता ज्ञापन गर्दै नगरप्रमुख प्रजापतिले चिनियाँ भाषाको प्रशिक्षण सञ्चालनबारे कन्फ्युसियस इन्स्टिच्युटसँग सहकार्य गरी अगाडि बढ्ने बताए ।
कन्फ्युसियस इन्स्टिच्युटका चिनियाँ निर्देशक लुकाओले त्रिभुवन विश्वविद्यालयमा हालै मात्र कम्फ्युसियस इन्स्टिच्युट स्थापना भई चिनियाँ भाषाको अध्ययन–अध्यापन सुरु भएको बताए । उनले भक्तपुरमा चिनियाँ भाषाको शिक्षालाई अगाडि बढाउन उत्सुक भएको समेत बताएका छन् । भक्तपुर नगरपालिकाले चिनियाँ भाषा कक्षा सञ्चालन गर्दै आइरहेको विषयमा आफू अवगत रहेको भन्दै लुकाओले नगरपालिकाको मागअनुसार चिनियाँ शिक्षक उपलब्ध गर्न आफूहरू तयार रहेको बताए ।
लुकाओले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज, ख्वप इन्जिनियरिङ कलेज र ख्वप अस्पतालको समेत स्थलगत अवलोकन गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया