ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनबाट ८०० मेवागाट बिजुली आयात–निर्यात गर्ने सहमति
७ फाल्गुन २०७९, आईतवार

काठमाडौं । नेपाल र भारत ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनबाट हाल भइरहेको विद्युत आयात–निर्यात २०० मेगावाटले बढाउन सहमत भएका छन् । फागुन ६ गते (शनिबार) भारतको राजस्थानमा बसेको ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकमा हाल भइरहेको आयात–निर्यातको क्षमता बढाउने सहमति भएको हो ।
४०० किलोभोल्टको ढल्केबर–मुजफ्फरपुर पहिलो अन्तरदेशीय प्रसारण लाइनबाट हाल ६०० मेगावाट विद्युत आयात–निर्यात हुँदै आएको छ । अब त्यहाँबाट ८०० मेगावाट आयात–निर्यात गर्ने सहमति भएको ऊर्जा मन्त्रालयका सहसचिव एवम् प्रवक्ता मधुप्रसाद भेटुवालले जानकारी दिएका छन् ।
सहसचिव मरासिनीका अनुसार हाल निर्माणाधिन ढल्केबर (नेपाल)–सीतामढी (भारत) प्रसारण लाइनबाट समेत विद्युत आदान–प्रदान गर्न अध्ययनका लागि संयुक्त प्राविधिक टोलीलाई निर्देशन दिइएको छ ।
टनकपुर–महेन्द्रनगर १३२ केभी विद्युत प्रसारण लाइनबाट ७० देखि ८० मेगावाट विद्युत आयात–निर्यात गर्ने सहमति पनि भएको छ । साथै संयुक्त प्राविधिक टोलीबाट २०० मेगावाटसम्मको विद्युत निर्यात गर्नका लागि सम्भावित विकल्पहरुको अध्ययन गराउन नेपाल र भारतका अधिकारीहरु सहमत भएका छन् ।
१३२ केभी तथा सोभन्दा कम क्षमताको विद्यमान प्रसारण लाइनबाट वर्षायाममा नेपालबाट भारतको बिहार राज्यमा विद्युत निर्यात गर्न आवश्यक संयन्त्र बनाउने र नेपालका विभिन्न जलविद्युत आयोजनाहरुबाट उत्पादन हुने बिजुली भारतीय बजारमा निर्यात गर्न अन्तरसरकारी सम्झौता गर्ने पनि सहमति भएको छ ।
दोस्रो अन्तर्देशीय नयाँ बुटवल–गोरखपुर ४०० केभी प्रसारण लाइन अन्तर्गत भारतीय खण्डको निर्माण आगामी सन् २०२५ मार्चमा सम्पन्न गर्न सम्झौतामा चाँडै हस्ताक्षर गर्ने सहमति पनि भएको छ ।
भारतीय अधिकारीहरुले नेपालबाट ५० मेगावाट विद्युत बंगलादेश निर्यात गर्ने सम्बन्धमा निश्चित आयोजनासहित नेपालले प्रस्ताव पेश गरेमा स्वीकृति दिन सकारात्मक रहेको बताएका छन् । नेपालबाट बिजुली भारतीय बाटो हुँदै बंगलादेश लैजानुपर्ने हुन्छ तर भारतले स्वीकृति दिएको छैन ।
बैठकपछि जारी विज्ञप्तिमा लेखिएको छ, ‘नेपालबाट ५० मेगावाट विद्युत बंगलादेश निर्यात गर्ने सम्बन्धमा निश्चित आयोजनासहित नेपालको प्रस्ताव पेश भएमा भारतको विद्युत आयात–निर्यात निर्देशिका बमोजिम भारतीय पक्ष स्वीकृति दिन सकारात्मक रहेको ।
फेसबुकबाट तपाईको प्रतिक्रिया