विद्युत प्राधिकरणका ३९ सबस्टेसन स्वचालित बनाउने ठेक्का भारतको जिई लाई

नेपाल विद्युत प्राधिकरणले देशभरिका ३९ सबस्टेसन स्वचालित बनाउने ठेक्का भारतको जिई ग्रिड सोलुसन्सलाई दिएको छ।

विद्युत प्राधिकरणबाट ६ वटा ‘मास्टर कन्ट्रोल सेन्टर’ निर्माणसहित मुलुकभरिका विभिन्न ‘रेटिङ’ का ३९ सबस्टेसन स्वचालित गर्न अरबौं रुपैयाँबराबरको ठेक्का पाएको जिईले जानकारी दिएको छ।

एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा सबस्टेसन स्वचालित बनाउन लागिएको हो। जिईले मास्टर कन्ट्रोल सेन्टर अनुगमन (मनिटरिङ) गर्ने भएको छ। कम्पनीले सबस्टेसनमा ‘रिले प्यानल’ र अन्य विद्युतीय घटकहरूको पुनः ‘फिटिङ’ को काम पनि गर्ने भएको छ।
सबस्टेसनहरू स्वचालित भएपछि विद्युत प्रसारणको वास्तविक समय अनुगमन गर्न सक्षम हुनेछ। यस्तै सबस्टेसनलाई नेपालको राष्ट्रिय ‘लोड डिस्प्याच सेन्टर’ मा जडान गर्ने छ।

नेपालमा विद्युत आपूर्तिको विश्वसनियता, दक्षता र वित्तीय दिगोपन सुधार गर्नु हो। यी सबस्टेसनको आधुनिकीकरणले नेपालको विद्युत प्रसारण सञ्जाललाई वर्तमान र भविष्यका माग पूरा गर्न, आपूर्तिको विश्वसनियता र गुणस्तर सुधार गर्न र घाटा कम गर्न मद्दत गर्ने प्राधिकरणका कार्यकारी निर्देशक कूलमान घिसिङले बताए।

नेपालको सुक्खा जाडो महिनामा लामो समयदेखि विद्युत अभाव भए पनि विद्युत प्राधिकरणले हालैका वर्षमा विद्युत उत्पादन क्षमतामा उल्लेखनीय सुधार गरेको छ। हाल जडित क्षमता २ हजार ४ सय मेगावाट पुगेको छ। साउन यता प्रणालीमा ३ सय १६ मेगावाट बिजुली थप भएको छ।

तर, विद्युत उत्पादन स्थलबाट ‘लोड सेन्टर’ सम्म सहज र निर्वाध आपूर्ति सुनिश्चित गर्न प्रसारण प्रणाली सुदृढीकरणको आवश्यकता छ। प्रसारण प्रणाली कमजोर भएका कारण अझै भरपर्दो रुप मा बिजुली आपूर्ति हुन सकेको छैन।

सन् २०१६ मा नेपालले १० वर्षभित्र थप १५ हजार मेगावाट उत्पादन क्षमता जडान गर्ने र अतिरिक्त विद्युत छिमेकी भारत निर्यात गर्ने योजना अघि सारेको थियो।

यी योजनाले देशको प्रसारण प्रणालीको तत्काल स्तरोन्नति र विस्तार गर्न माग गरेका छन्। नेपालले गएको बर्खामा ११ अर्ब रुपैयाँबराबरको बिजुली निर्यात गरिसकेको छ। सुक्खायामका कारण बिजुली उत्पादन घटेपछि अहिले नेपालले भारतबाट बिजुली आयात गरिरहेको छ।