चीन बाइपास , ताइवानले लम्ब्यायो अनिवार्य सैन्य सेवा अवधि

चीनसँगको बढ्दो तनाबका बीच ताइवानले अनिवार्य सैन्य सेवाको अवधिलाई लम्ब्याएको छ । जसअनुसार चार महिनाको अवधिलाई लम्ब्याएर एक वर्ष पुर्‍याइएको छ ।

ताइवानकी राष्ट्रपति साइ इङ वेनले मंगलबार पत्रकार सम्मेलन गर्दै यस्तो घोषणा सार्वजनिक गरेकी हुन् । बेइजिङबाट आक्रमण भएको खण्डमा देशको सुरक्षा बलियो बनाउने नयाँ योजनाको रुपमा यस्तो घोषणा गरेको साइको भनाइ छ। ‘शान्ति आकाशबाट खस्दैन । ताइवान अधिनायकवादी विस्तारको अग्रभागमा छ,’ साइले भनेकी छन् ।

राष्ट्रपति साईले नयाँ सैनिकहरूलाई अमेरिकी र अन्य अत्याधुनिक तालिमप्राप्त सेनाबाट थप प्रशिक्षण दिइने पनि जनाएकी छन् । ताइवानले १९९० को दशकयता १८ वर्ष नाघेका नागरिकहरूलाई बढीमा ३ वर्षका लागि सैन्य सेवाका लागि अनिवार्य गर्दै आएको छ । तर उक्त नियम परिवर्तन गर्दै पछिल्लो समय सैन्य सेवाको अवधिलाई ४ महिनासम्म तय गरिएको थियो । नयाँ नियम भने २०२४ को जनवरीदेखि लागू गरिने बीबीसीको समाचारमा उल्लेख छ । जुन महिना ताइवानको नयाँ राष्ट्रपति चयन पनि गरिनेछ ।

राष्ट्रपति साइले भने ताइवानको वर्तमान रक्षा प्रणाली चीनको आक्रमणको सामना गर्न अपर्याप्त रहेको बताएकी छन् । ‘यो अत्यधिक जटिल निर्णय हो । तर राष्ट्रपतिको रुपमा, सैन्य प्रमुखको रुपमा राष्ट्रिय हितको रक्षाका लागि यो मेरो अपरिहार्य कर्तव्य हो । साथै यो हाम्रो लोकतान्त्रिक जीवनशैली पनि हो,’ राष्ट्रपति साइले भनेकी छन्, ‘युद्ध कसैले पनि चाहँदैन । ताइवान र ताइवानका जनताहरू साथै अन्तर्राष्ट्रिय समुदाय उस्तै छ ।’

यस्तै अगस्टमा चीनको युद्धपछि चिनियाँ सैन्य आक्रामकता बढ्दै गरेको पनि उनको भनाइ थियो । गत अगस्टमा अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणलाई लिएर चीन र ताइवानबीच तनाब अत्यधिक रुपमा बढेको थियो । त्यस क्रममा ताइवान आसपास समुद्री क्षेत्रमा चीनले आफ्नो सैन्य अभ्यास तीव्र रुपमा बढाएको थियो । ताइवानले भने चीनको उक्त गतिविधिलाई ‘अत्यधिक उत्तेजक’ भनेको थियो ।

विश्वकै दोस्रो ठूलो अर्थतन्त्र रहेको चीनले ताइवानलाई आफ्नै क्षेत्र मान्ने गरेको छ भने अमेरिकाले चीनको यस्तो नीतिको कडा आलोचना गर्दै आएको छ । अगस्टमा अमेरिकी सभामुखको ताइवान भ्रमणपछि भने चीनले ताइवानलाई गाभ्नसक्ने भन्दै धेरै पक्षबाट आकलन गरिएको थियो । तर अमेरिका र उसका सहयोगी राष्ट्रहरूले यसैलाई लिएर चीनको आलोचना गर्दै आएका छन् ।

दुई शक्तिशाली देशहरूबीचको तनाबका बीच ताइवान बारम्बार विवादको केन्द्र बन्ने गरेको छ । त्यसो त चीन र अमेरिकाका राष्ट्रपतिबीच संवादको क्रममा पनि ताइवानको विषय आउने गरेको छ । विवादका बावजुद गत महिना चीनका राष्ट्रपति सी चिनफिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच जी २५ राष्ट्रको बैठकको क्रममा इन्डोनेसियाको बालीमा प्रत्यक्ष भेटवार्ता भएको थियो ।

उक्त भेटवार्तालाई सम्बन्ध सुधार गर्ने पहलको रुपमा पनि लिइएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । तर यसै साता चिनियाँ विदेशमन्त्री र अमेरिकी विदेशमन्त्रीबीच टेलिफोन वार्ताको क्रममा पनि विवाद उत्पन्न भएको थियो । जहाँ विवादको केन्द्र पनि ताइवान नै देखिएको थियो । त्यसबेला चिनियाँ विदेशमन्त्रीले अमेरिकी समकक्षीलाई रेडलाइन क्रस नगर्न भन्दै चेतावनी दिएका थिए ।