भारतीय दुतावासले काठमाडौंमा मनायो सेना दिवस
६ माघ २०७९, शुक्रबार

राजविराज । भारतीय दूतावासले ७५ औं सेना दिवस मनाएको छ । भारतको ७५ औं सेना दिवसको अवसरमा नेपालस्थित भारतीय राजदूतावसको रक्षा प्रभागले माघ ४ गते सेना दिवस मनाएको हो ।
सेना दिवस कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्मा सो समारोहको प्रमुख अतिथिको रुपमा थिए । शर्मा भारतीय सेनाका मानार्थ महारथी प्रसिद्ध प्रबल जनसेवा श्री जनरलसमेत हुन् । त्यस्तै समारोहमा नेपालका पूर्वसेना प्रमुख, बहालवाला एवम् सेवानिवृत्त सेना अधिकृत, कुटनैतिक वृत्तका अधिकारी, नेपाल सरकारका अधिकारी र पत्रकारहरुको उपस्थिति थियो ।
कार्यक्रममा नेपालका लागि भारतीय राजदूत श्री नवीन श्रीवास्तवले दुई देशलाई भ्रातृवत् सम्बन्धमा जोड्ने भारतीय सेना र नेपाली सेनाबीचको गहिरो ऐतिहासिक साइनोको रहेको स्मरण गरे ।
भारतीय सेनामा रही गोर्खा सैनिकले गरेको निःस्वार्थ सेवा र बलिदानप्रति कृतज्ञता प्रकट गर्दै उनले भारतीय सेनाका पेन्सनवाला र नेपालमा रहेका उनीहरुका परिवारको कल्याणका लागि भारतले काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
प्रधानसेनापति शर्माले भारतका सेनाध्यक्ष एवम नेपाली सेनाका मानार्थ महारथी मनोज पाण्डेलाई भारतको ७५ औं सेना दिवसको अवसरमा शुभकामना व्यक्त गरे । सोही अवसरमा उनले भारतको दोस्रो चिफ अफ डिफेन्स स्टाफको रुपमा नियुक्त भएका जनरल अनिल चौहानलाई बधाई दिए । दुई देशका सेनाबीचको गहिरो सम्बन्धको चर्चा गर्दै उनले नेपाली सेनाको क्षमता विकासमा भारतीय सेनाले गरेको सहयोगको प्रशंसा समेत गरे ।
यस्तै प्रधान सेनापति शर्माले भारतीय सेनाका वीरता पुरस्कार प्राप्त गर्ने गोर्खा सैनिकहरूलाई सम्मान गरेका छन । कार्यक्रममा प्रधान सेनापति शर्माले वीरता पुरस्कार गोर्खा सैनिकहरूलाई सम्मान गरेको हो ।
सम्मानित हुनेहरूमा सौर्य चक्र प्राप्त गर्ने पृथबहादुर मगर, सोरमन राई र गोकुल प्रधानका साथै कृति चक्र प्राप्त गर्ने भुपालसिंह छन्त्याल मगर र दिलबहादुर थापा हुनुहुन्छ । पूर्व गोर्खा सैनिक मगरले सन् २००० मा, राईले सन् १९७६ र प्रधानले सन् २००१ मा सौर्य चक्र प्राप्त गरेका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया