चिनियाँ राजदूत चेन र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ। बुधबार साँझ बालकोटमा उनीहरूबीच छलफल भएको हो। साझ बालकोट पुगेका सोङले करिब डेढ घन्टा ओलीसँग छलफल गरेको स्रोतले जनाएको छ। उनीहरूबीच समसमायिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ।

स्रोतका अनुसार राजदूत सोङले सभामुख र राष्ट्रपतिको निर्वाचनबारे ओलीसँग चासो व्यक्ति गरेका थिए।

नेपालका लागि चिनियाँ राजदूत बनेर आएपछि सोङ र ओलीबीच यो पहिलो भेट हो। दुई देशबीचको सम्बन्ध विस्तार, एक चीन नीतिमा नेपालको साथ र बीआरआई परियोजनाका विषयमा सोङले चासो राखेका थिए।

गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई ओहदाको प्रमाणपत्र बुझाएपछि उनी राजनीतिक भेटमा सक्रिय छन्। उनले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका थिए। प्रचण्डसँगको भेटमा राजदूत सोङले चिनियाँ राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीकोतर्फबाट प्रधानमन्त्री प्रचण्डलाई दिएको बधाई सन्देश सुनाएका थिए। त्यस्तै नयाँ वर्षको शुभकामना सन्देश हस्तानान्तरण गर्दै चीन नेपालको स्थायित्व, विकास र समृद्धिको बाटोमा सधैं साथमा रहने सन्देश प्रधानमन्त्रीलाई सुनाएका थिए।

राजदूत सोङ पुस २४ गते कार्यभार सम्हाल्न नेपाल आइपुगेका थिए। उनी दक्षिण एसिया मामिलामा अनुभवी चिनियाँ कूटनीतिज्ञका रुपमा चिनिन्छन्। यसअघि उनी चिनियाँ विदेश मन्त्रालयमा एसियन अफेयर्स डिपार्टमेन्टका उपमहानिर्देशक भएर काम गरेका थिए।