पोखरा अन्तरराष्ट्रिय एयरपोर्टको कमीकमजोरी ढाकछोप गर्न देश शोकाकुल रहेकै अवस्थामा चिनियाँ दवावमा प्रचण्डको मन्त्री परिषद गठन
५ माघ २०७९, बिहीबार

काठमाडौं, ४ माघ । माघि संक्रान्तीको दिनमा पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनाको कारण अझै खुलिसकेको छैन ।
प्रारम्भिक कारणमा पोखरामा हालै सञ्चालनमा आएको अन्तर्राष्ट्रिय विमानस्थल दुर्घटनाको कारण रहेको देखिएको छ । विमानस्थलको उद्घाटन अन्तर्राष्ट्रिय उडान बिना नै भएकाले प्रश्न यतिखेर उठेको हो । अन्तर्राष्ट्रिय मान्यता पाउनेमा नै शंका उब्जिएको छ । अन्तर्राष्ट्रिय मान्यता नपाएपछि आन्तरिक उडानमै सीमित रहने छ । पुरानै विमानस्थलबाट आन्तरिक उडान भइरहे पनि अन्तर्राष्ट्रिय भनेर हतार हतार सञ्चालनमा ल्याइएको विमानस्थलमा आन्तरिक उडान सिफ्ट गरिएको छ । विमानस्थलको सुरक्षाप्रति गम्भीर प्रश्न कायमै छ ।
यही बेला आन्तरिक हवाई उडानको सबैभन्दा ठुलो दुर्घटनामा मानवीय क्षति पनि धेरै भएकाले मुलुक नै शोकमा छ । पोखरा दुर्घटनाले विमानस्थलको कमजोरीको रहस्य खुल्न सक्ने भए पछि चिनियाँ राजदूतले यो मुद्दालाई डाइभर्ट गर्न रणनीतिक रुपमा हतार हतार मन्त्रिमण्डल विस्तार गर्न लगाएका छन् ।
सोमबार विहान प्रधानमन्त्री प्रचण्डलाई भेटेर चिनियाँ राजदूत चेन सोङले मन्त्रिपरिषद् विस्तार गर्न दबाब दिएका थिए । त्यसलगत्तै प्रधानमन्त्री प्रचण्ड एमाले अध्यक्ष केपी ओली निवास बालकोट पुगेका थिए । बालकोटमा पाँच घण्टा छलफल गरेर मन्त्रिमण्डलको भागवण्डा टुंग्याएका थिए । देशलाई शोकमा राखेर सत्ता गठबन्धनका नेताहरु दिनभर बसेर हतार हतार मन्त्रिमण्डल गरेका हुन् ।
चीनको ऋण सहयोगमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा तयार नहुँदै प्रचण्ड प्रधानमन्त्री बने लगत्तै चिनियाँ जोडबलमा हतार हतार उद्घाटन गरिएको थियो । विमानस्थलको सुरक्षा संयन्त्र बारे उद्घाटनकै बेला प्रश्न उठेको थियो ।
विमानस्थल उद्घाटनको दिन डेमो फ्लाइट गरेका यति एयरका वरिष्ठ पाइलट कमल केसीले पनि एयरपोर्टको मापदण्ड माथि प्रश्न उठाएका थिए । पुस ७ गते डेमो फ्लाइटपछि सञ्चारकर्मी सँग कुरा गर्दै पाइलट केसीले रनवे देखि भौगलिक कठिनाइ सम्म प्रश्न उठाएका थिए । ’अन्तर्राष्ट्रिय विमानस्थलमा त्यति डाँडाकाँडा हुँदैन । पोखरा वरपर डाँडाकाँडा छ । अरू एअरपोर्ट हेर्दा यहाँ अलिकति गाह्रो छ,’ उनले भनेका थिए, ’रनवेको लम्बाइ यहाँको छोटो छ । यहाँको ८ हजार जति फिट छ । बाहिर १० हजार जति हुन्छ । वरपरको डाँडाले गर्दा डिस्टर्ब छ । अलिकति गाह्रो छ ।’ एयरपोर्ट माथि प्रश्न उठाएका पाइलट केसीले आइतबार बिहान दुर्घटनामा परेर ज्यान गुमाए ।
पोखराको रिठ्ठे डाँडा काट्नुपर्ने बाँकी हुँदै हतार हतार अन्तर्राष्ट्रिय एयरपोर्ट चलाउँदा आलोचना भइरहेकै बेला जहाज दुर्घटना हुँदा विमानस्थल माथि देशभित्र आम जनता र अन्तर्राष्ट्रिय रुपमा प्रश्न उठिरहेका बेला चिनियाँ दबाबमा हतार हतारमा मन्त्रिमण्डल विस्तार गरेर ध्यान मोडिएको राजनीतिक विज्ञहरु बताउँछन् ।
त्यसमा पनि चीनले पोखरा एयरपोर्टलाई बीरआरआई अन्तर्गतकै परियोजना भनेर दाबी गरेकाले आशंका बढेको छ । चिनियाँ एक्जिम बैंकको महंगो ब्याजदरमा बनेको एयरपोर्ट बीआरआई अन्तर्गतकै परियोजनामा रुपान्तरण भए भोलिका दिनमा नेपाल श्रीलंका र पाकिस्तानको बाटोमा अग्रसर हुने चिन्ता राजनीतिक विज्ञहरुले गरेका छन् ।
दुर्घटनाबाट जोगियो अर्को जहाज
आइतबार यतिको जहाज भयानक दुर्घटनापछि अर्को जहाज पनि दुर्घटना नजिक पुगेको खुलेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा चरासँग जहाज ठोक्किएको थियो । तर, पाइलटले सकुशल अवतरण गराएका थिए । धावनमार्गमा मरेको चरालाई कुचोले बढारेर सफा गरिएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया