६० वर्षमा पहिलो पटक घट्यो चीनको जनसंख्या, विश्व अर्थतन्त्रमै असर पर्ने
३ माघ २०७९, मंगलवार

माघ ३ ,
दशकौँपछि चीनको जनसंख्या घट्न पुगेको छ। यो ऐतिहासिक परिवतर्नले चीनको आन्तरिक र विश्वकै अर्थतन्त्रमा दीर्घकालीन प्रभाव पार्ने विश्लेषण गरिएको छ।
विश्वको सबैभन्दा धेरै जनसंख्या भएको मुलुक चीन श्रम र मागको अत्यन्त महत्वपूर्ण स्रोत हो। जसले चीन र विश्वमै आर्थिक वृद्धिलाई गति दिँदै आएको छ।
मंगलबार नेसनल ब्युरो अफ स्टाटिस्टिक्सले २०२२ मा जनसंख्या ८ लाख ५० हजारले घटेको जनाएको छ। अहिले चीनको जनसंख्या १.४११७५ छ। चीनमा ६० वर्षमा पहिलो पटक जनसंख्या घटेको हो।
‘यो ऐतिहासिक मोड हो। यो दीर्घकालीन, उल्ट्याउन नसकिने जनसंख्या घट्ने क्रमको सुरुवात हो,’ युनिभर्सिटी अफ क्यालिफोर्निया, इर्भिनस्थित चिनियाँ जनसंख्याका विज्ञ वाङ फेङले भने।
गत वर्ष जन्मिनेहरुको संख्याभन्दा मर्नेहरुको संख्या ज्यादा भएपछि यसको सुरुवात भएको हो। गतवर्ष ९५ लाख ६० हजार बच्चा जन्मेका थिए।
चीनको जन्मदर ७० वर्षयताकै न्यून विन्दुमा छ। गत वर्षको जन्मदर प्रतिहजार जनसंख्या बराबर ६.७७ मात्र छ। २०१९ मा त्यो १०.४१ थियो।
तर, मृत्युदर भने गतवर्ष १९७० यताकै सबैभन्दा उच्च अर्थात् ७.३७ प्रतिहजार पुगेको छ।
जन्मदर घट्ने क्रमको सुरुवात १९८० मा लगाइएको एक सन्तानको नीति थियो। त्यसलाई हटाएर २०१६ मा दुई सन्तान नीति लागू गरिएको थियो।
राष्ट्रसंघले चीनको जनसंख्या २०५० मा १.३१ अर्बमा झर्ने आकलन गरेको छ। सो अनुमान अनुसार यसै वर्ष जनसंख्यामा भारतले चीनलाई उछिन्नेछ।
फेसबुकबाट तपाईको प्रतिक्रिया