अमेरिका र जापान चीनविरुद्धको गठबन्धन बलियो बनाउँदै

एजेन्सी
इन्डो-प्यासिफिक क्षेत्रमा चीनको बढ्दो प्रभावलाई दृष्टिगत गर्दै जापानी प्रधानमन्त्री फुमियो किशिदाले शुक्रबार ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति बाइडेनसँग भेट गरे।

सो अवसरमा दुई देश बीचको गठबन्धनलाई थप बलियो बनाउने विषयमा सहमति भएको बताइएको छ। दुवै पक्षले सुरक्षा रणनीतिबारे छलफल गरेको जापानको एनएचके वर्ल्डले उल्लेख गरेको छ।

ह्वाइट हाउसमा भएको भेटमा प्रधानमन्त्री किशिदा र राष्ट्रपति बाइडेनबीच दुई घन्टा लामो कुराकानी भएको थियो। सो वार्तामा किशिदाले जापानले आफ्नो सुरक्षा रणनीतिमा उल्लेखनीय परिवर्तन गरेको बताएका थिए।

सो परिवर्तित नीतिहरूमा उल्लेख्यरूपमा रक्षा बजेटमा वृद्धि र काउन्टर स्ट्राइकको योजना लगायतका विविध विषय समावेश छन्। क्षेत्रीय शान्ति र सुरक्षा कायम गर्न जापानी प्रधानमन्त्रीले जापानको सुरक्षा रणनीतिमा जोड दिएकाले सुरक्षा वातावरण पहिलेभन्दा धेरै गम्भीर र जटिल भएको उल्लेख गरेको एनएचके वर्ल्डले उल्लेख गरेको छ।

राष्ट्रपति बाइडेन र जापानी प्रधानमन्त्रीले ताइवान स्ट्रेटमा द्वन्द्वबाट बच्न आफ्नो प्रतिबद्धता दोहोर्‍याएको बैठकपछि व्हाइट हाउसले शुक्रबार जारी गरेको संयुक्त विज्ञप्तिमा जनाइएको छ।

‘हामी ताइवानमा हाम्रा आधारभूत अडानहरू अपरिवर्तित रहने कुरामा जोड दिन्छौं साथै अन्तर्राष्ट्रिय समुदायमा सुरक्षा र समृद्धिको अपरिहार्य तत्त्वको रूपमा ताइवान स्ट्रेटमा शान्ति र स्थिरता कायम राख्ने महत्त्वलाई दोहोर्‍याउँदछौं,’ह्वाइट हाउसले भनेको छ।

अगस्टको सुरुमा अमेरिकी पूर्व सभामुख न्यान्सी पेलोसीले चीनलाई आक्रोशित पार्दै ताइवानको भ्रमण गरेपछि ताइवान वरपरको स्थितिमा सुरक्षा संवेदनशीलता बढेको थियो। यसैगरी, पछिल्ला महिनाहरूमा फ्रान्स, जापान र अन्य पश्चिमी देशहरूले पनि यस टापुमा आफ्ना प्रतिनिधिमण्डलहरू पठाएर सुरक्षा संवेदनशीलतालाई थप पेचिलो बनाएका थिए।

ह्वाइट हाउसको विज्ञप्ति अनुसार राष्ट्रपति बाइडेनले जापानको नयाँ राष्ट्रिय सुरक्षा रणनीति, राष्ट्रिय रक्षा रणनीति र रक्षा निर्माण कार्यक्रमको पनि प्रशंसा गरेका छन्।

यसै बीच कोभिड-१९ महामारी लगायतका विषयमा पर्‍याप्त र पारदर्शी डेटा उपलब्ध गराएर विश्वभरका जनस्वास्थ्य अधिकारीहरूलाई मद्द्त गर्न पनि अमेरिका र जापानका नेतद्वयले चीनलाई विशेष आग्रह गरेका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘हामी चीनलाई कोभिड-१९ को फैलावटसम्बन्धी पर्‍याप्त पारदर्शी एपिडेमियोलोजिकल र भाइरल जीनोमिक अनुक्रम डेटा सार्वजनिक गर्न पनि आह्वान गर्दछौं। जसले विश्वभरका जनस्वास्थ्य अधिकारीहरूलाई महामारिको फैलावट कम गर्न र कुनै पनि सम्भावित नयाँ भेरियन्टहरू पहिचान गर्न सहयोग पुर्‍याउनेछ।’