पाकिस्तानबाट बोलाएर काठमाडौंमा ३० लाख लुट्ने ३ पाकिस्तानी पक्राउ
२ माघ २०७९, सोमबार

काठमाडौं । एक पाकिस्तानी नागरिकलाई काठमाडौंको ठमेलबाट बन्धक बनाइ फिरौती लिएका तीन पाकिस्तानी पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाकिस्तानी नागरिकहरु मुहम्मद रासिद, मुहम्मद आसिफ र मुहम्मद फिदा हुसैन छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार वैदेशिक रोजगारीका लागि क्यानाडा जान नेपालबाट सजिलो हुन्छ भन्दै पाकिस्तानबाट काठमाडौं बोलाएर पाकिस्तानी नागरिक मोहम्मद सामी खानलाई निजहरुले ठमेलस्थित एक होटलमा बस्न लगाएका थिए ।
उनीहरुले बायोमेट्रिक लगायतका प्रक्रिया पूरा गर्न भन्दै होटलबाट ट्याक्सीमा राखेर पुस २४ गते दिउँसो साढे २ बजेको समयमा बुढानीलकण्ठस्थित भाडाको घरमा पुर्याएर निजको आँखामा पट्टी तथा हातखुट्टा बाँधेर बोल्न नसक्ने गरी बन्धक बनाएर राखेको अपराध अनुसन्धान कार्यालयले जनाएको छ । प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार आरोपित तीनै जनाले पीडितका पाकिस्तानमा रहेका भाइलाई आफू क्यानाडा जान लागेको र ३० घण्टासम्म मोबाइल अफ हुन्छ भनेर म्यासेजसमेत गर्न लगाएका थिए ।
३० घण्टापछि पीडितलाई फेरि आफ्नो भाइलाई म्यासेजमार्फत् आफू क्यानाडाको इमिग्रेसनमा रोकिएको र पैसा बुझाए मात्र प्रवेश दिन्छ भनेर पाकिस्तानमा ३० लाख पाकिस्तानी रुपैयाँ र २४ हजार दिरामसमेत गरी २५ लाख ६६ हजार ६९७ नेपाली रुपैयाँ फिरौती रकम लिन सफल भएका थिए ।
रकम लिइसकेपछि निजहरुले पीडित मोहम्मद सामी खानलाई पुस २६ गते राति अन्दाजी साढे १० बजे ट्याक्सीमा राखेर सिनामंगलस्थित सडकमा पाकिस्तान फर्कनु भनेर छाडी फरार भएको प्रहरीको भनाइ छ । निजहरुलाई पुस २८ गते बुढानीलकण्ठस्थित भाडाको घरबाट दसीका सामानसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया