देशले अर्को राजनीतिक अस्थिरताको चक्र थेग्न सक्दैन, राष्ट्रिय सहमतिको सरकार बनाऔँ : बाबुराम भट्टराई

नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशले अर्को राजनीतिक अस्थिरताको चक्र थेग्न नसक्ने भएकाले राष्ट्रिय सहमतिको स्थिर सरकार बनाउनुपर्ने बताएका छन् ।

शुक्रबार ट्वीट गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले खुट्टा तानातानमा समय खेर फाल्नुको सट्टा लोकतान्त्रिक गणतन्त्र पक्षधर दलहरूको राष्ट्रिय सहमतिको स्थिर सरकार बनाउनुपर्ने बताएका हुन् ।

‘विश्वव्यापी आर्थिक मन्दी मडारिँदै गरेको र नेपाल पहिल्यै अल्पविकास र परनिर्भरताको दुष्चक्रमा फसिरहेको स्थितिमा देशले अर्को राजनीतिक अस्थिरताको चक्र थेग्न सक्दैन । अतःखुट्टा तानातानमा समय खेर फाल्नुसट्टा संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर दलहरूको राष्ट्रिय सहमतिको स्थिर सरकार बनाउने कि ?,’ उनले भनेका छन् ।

यसअघि भट्टराईले संघीयता र गणतन्त्रविरोधी राप्रपालाई सरकारमा सहभागी गराउन नहुने बताएका थिए । भट्टराईले सत्ताका लागि गठबन्धन गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई महत्व दिन नहुने पनि बताएका थिए । उनले भनेका थिए, ‘गठबन्धन गर्दा एउटा लक्ष्मणरेखा पालना गरिएन भने ठूलो दीर्घकालीन क्षति हुनसक्छ  । सरकारको अंकगणितनिम्ति संघीय लोकतान्त्रिक गणतन्त्रविरोधी शक्तिसँग घाॅटी जोड्दा संविधान र व्यवस्था नै धरापमा पर्न सक्छ । २०५१ सालपछि कांग्रेस र कम्युनिष्टले पालैपालो राप्रपा बोक्दाको दुष्परिणाम नबिर्सौं ।’