लिङ्देनलाई प्रधानमन्त्री अफरबारे कांग्रेस प्रवक्ता भन्छन्– सिरियस रूपमा कसैले भनेको छैन
२४ पुष २०७९, आईतवार

ऐन माैकामा आवश्यक निर्णय लिन नसक्दा मुखमा आएको सत्ता गुमाएकाे संसद्को ठूलो दल नेपाली कांग्रेस अहिले प्रतिपक्षमा छ । पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदैछन् । त्यसअघि प्रचण्डलाई विश्वासको मत पुग्न नदिन कांग्रेस लागिपरेको छ ।
सत्ता गठबन्धन छाडेर आए राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई प्रधानमन्त्री स्वीकारेर अघि बढ्न सकिने अफर कांग्रेसले दिएको छ । राप्रपाका एक शीर्ष नेताले पनि दाहाल नेतृत्वको सरकार ढाल्न आफूहरूलाई कांग्रेसबाट प्रधानमन्त्रीको अफर आएको बताएका छन् ।
‘प्रधानमन्त्रीसहित चारवटा मन्त्रालय दिन सकिने भनेर कांग्रेसबाट प्रस्ताव आएको साँचो हो’, ती नेताले भने, ‘छलफलहरू भइरहेका छन् ।’
यद्पि कांग्रेस प्रवत्ता प्रकाशशरण महतले भने राप्रपालाई प्रधानमन्त्रीको अफर औपचारिक रूपमा नगरेको बताएका छन् । ‘केही कुरा भएको छैन’, प्रवक्ता महतले भने, ‘त्यस्तो केही गरेको छैन ।’
राप्रपाले अफर आएको हाे तर परिपक्व निर्णय गर्ने बताइरहेको छ नि भन्ने जिज्ञासामा प्रवक्ता महतले भने, ‘क्याजुअल्ली कसैले भन्यो होला । सिरियस रूपमा पार्टीबाट कसैले भनेको छैन ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया