नेपाललाई विश्वविख्यात प्रोफेसरहरूको चेतावनी – चिनियाँ ऋणको जालोबाट बच्नुपर्छ
१० पुष २०७९, आईतवार

काठमाडौं । नेपाललाई चिनियाँ महँगो ऋणको जालोबाट जोगिन विश्वविख्यता प्रोफेसरहरूले चेतावनी दिएका छन् । भारतको जवाहरलाल नेहरु विश्वविद्यालयका प्रोफेसर कोन्डापल्लीले चिनियाँ ऋणको जालो (डेब्ट ट्रयाप)बाट बच्नुपर्ने बताएका छन्। उनले बीआरआई अन्तर्गतका परियोजनाहरूले श्रीलंका र पाकिस्तान टाँट पल्टिएको उदाहरण दिँदै बेलैमा जोगिनुपर्ने बताए
उनले भने, ‘बीआरआईअन्तर्गत ऋण लगानीको ब्याजदर उच्च छ । यस्ता परियोजनाहरूले श्रीलंका, पाकिस्तान जस्ता देशहरुको अर्थतन्त्र टाँट पल्टिएका छन्।’ चिनियाँ विश्वव्यापी पूर्वाधार विकास परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) मा दक्षिण एसियाको स्थिति र यसका चुनौतीहरुको विषयमा महत्वपूर्ण गोष्ठीमा उनले यस्तो बताएका हुन् । उनले दक्षिण एसियाली मुलुकहरुले चीनको बीआरआई परियोजना चर्को ब्याजदरमा कार्यान्वयन गर्न नहुनेमा जोड दिए ।
यस बाहेक चिनियाँ पूर्वाधार परियोजनाहरूको दीर्घकालीन गुणस्तरीयतामा समेत प्रश्न रहेको उनको भनाइ छ । भारतको जवाहरलाल नेहरु विश्वविद्यालयमा स्कुल अफ इन्टरनेशनल स्टडिजका डीन र चाइनिज स्टडिजका प्रोफेसर श्रीकान्त कोन्डापल्ली, श्रीलंकाको काउन्सिल फर पब्लिक पोलिसी (सीपीपी) का हरिम वाटसन पेइरिस, बंगलादेशको सेन्टर फर पोलिसी डाइलगका डा. टोफिकुल इस्लाम खान र भारतको साई नाथ विश्वविद्यालयका डा. देभेन्द्र कुमारले शुक्रबार एक गोष्ठीमा बीआरआईमार्फत चीनले फैलाउने ऋणको जालोबाट जोगिन चेतावनी दिएका हुन् ।
श्रीलंकाको काउन्सिल फर पब्लिक पोलिसी (सीपीपी) का पेइरिसले श्रीलंकाली अर्थतन्त्रमा संकट आउनुको एउटा प्रमुख कारण चिनियाँ ऋण भएको स्वीकार गरेका छन् । उनले श्रीलंकाको हम्बनटोटा बन्दरगाह चीनले ९९ वर्षका लागि लिजमा लिएको कुरा उल्लेख गर्दै चिनियाँ डेब्टट्र्यापबाट बच्न जरुरी रहेको बताए ।
दक्षिण एसियाली मुलुकहरुले चिनियाँ बीआरआई अन्तर्गतका परियोजामा चीनको उच्च ब्याजदरको ऋण र चुक्ताको छोटो अवधि चिन्ताको विषय रहेको उनको भनाइ छ। यस्तै बंगलादेशको सेन्टर फर पोलिसी डाइलगका डा. खानले बीआरआई अन्तर्गतका परियोजनाहरुले दिने प्राविधिक, वित्तीय, आर्थिक, वातावरणीय, सामाजिक र राजनीतिक व्यवहारलाई ध्यानमा राख्दै अघि बढ्नु पर्ने बताए । उनले कुनै पनि ऋण लगानीको परियोजनाले चुक्ता गर्नु पर्ने छोटो समयावधिमै चुक्ता गर्नसक्ने किसिमको मुनाफा दिन्छ या दिँदैन र त्यो परियोजनाको ऋण विदेशी मुद्रामा तिर्नु पर्ने हुँदा सो परियोजनाले विदेशी मुद्राको आर्जनमा फाइदा गर्छ या गर्दैन भन्ने विषय पनि निर्क्यौल गर्नुपर्ने बताए ।
दक्षिण एसियामा भारत पछिको ठूलो अर्थतन्त्रका रुपमा रहेको बंगलादेशमा दक्षिण एसियामा पाकिस्तानपछि चीनले सबैभन्दा बढी लगानी गरेको बताउँदै उनले चिनियाँ ऋण भित्र्याउने विषयमा ब्याजदरको स्थिति, तोकिएको समयमा चुक्ता गर्न सक्ने नसक्ने क्षमता र त्यसले अर्थतन्त्रमा पुर्याउने फाइदा लगायतका विषयमाथि गम्भीर छलफल र अध्ययन हुनुपर्ने बताए । यस्तै भारतको साई नाथ विश्वविद्यालयका डा. कुमारले बीआरआईका विषयमा नेपालले अझै बढी सजग रहनु पर्ने बताए ।
पूर्व सचिव पुरुषोत्तम ओझाले बीआरआई अन्तर्गतका परियोजनाहरुले नेपालको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्नेमा शंका व्यक्त गरेका छन् । उनले खासगरी फ्री ट्रेड एग्रिमेन्ट नेपालको हितमा नरहेको बताएका छन् । आईआईडीएसका सिनियर फेलो अखिलेश उपाध्याय, इन्स्ट्युट अफ फरेन अफेयर्सका पूर्व डेपुटी कार्यकारी निर्देशक डा. रुपक सापकोटा, सीआईएफका अनुसन्धान निर्देशक अजय भद्र खनाल र पीईआईका सिनियर प्रोग्राम र रिसर्च अफिसर श्रेया राणालेसमेत बीआरआई अन्तर्गतका परियोजनाहरु देशको हितमा हुन्छन् या हुँदैनन् र यसअन्तर्गतका शर्तहरु नेपालको हकमा लागु हुन्छन् या हुँदेनन् भन्ने विषयमा गहन अध्ययन भएर मात्रै परियोजनाहरु अघि बढ्नु पर्ने बताए ।
सम्मेलनमा चिनियाँ ऋण लगानीको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ब्याजदरलाई लिएर अहिले प्रश्न उठ्न थालिसकेको भन्दै बीआरआई अन्तर्गतको उच्च ब्याजदरको लगानीका बारेमा नेपाल सचेत रहनु पर्ने विषयसमेत उठेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया