चिनियाँ सैनिकको अतिक्रमणको प्रयासलाई भारतीय सेनाले विफल पारे : रक्षामन्त्री सिंह
३ पुष २०७९, आईतवार

नयाँदिल्ली । अरुणाचल प्रदेशको तवाङमा चार दिन अगाडि चिनियाँ सैनिकसँगको झडपका विषयमा रक्षामन्त्री राजनाथ सिंहले मंगलबार संसद्लाई संक्षिप्त जानकारी दिएका छन् ।
झडपको विषय सार्वजनिक भएसँगै प्रमुख विपक्षी कंग्रेससहितका दलले सरकारमाथि दबाब बढाएपछि घटना भएको चार दिनपछि सरकारले त्यसबारे सदनलाई जानकारी गराएको हो । डिसेम्बर ९ मा भएको घटनाबारे रक्षामन्त्री सिंहले डिसेम्बर १३ मा संसद्लाई संक्षिप्त जानकारी दिएका हुन् । तीन मिनेटको मन्तव्यमा उनले चिनियाँ सैनिकको अतिक्रमणको प्रयासलाई भारतीय सेनाले दृढताका साथ सामना गरेर विफल तुल्याइदिएको दाबी गरेका छन् ।
‘९ डिसेम्बर २०२२ मा पीएलए सैनिकले तवाङ सेक्टरको यांगत्से क्षेत्रमा ‘लाइन अफ एक्चुअल कन्ट्रोल’ अतिक्रमण गरेर वास्तविक लाइनलाई एकतर्फी बदल्ने प्रयास गरेका थिए,’ सिंहले भनेका छन्, ‘चीनको त्यस्तो प्रयासलाई हाम्रो सेनाले दृढताका साथ विफल तुल्याएको छ ।’ झडपमा दुईतिरैका सैनिकमध्ये केहीलाई चोट लागे पनि भारतपट्टि कुनै पनि सेनाको मृत्यु नभएको र कोही गम्भीर घाइतेसमेत नरहेको उनको दाबी छ । घटनापछि स्थानीय कमान्डरले चिनियाँ समकक्षीसँग बैठक गरी शान्ति कायम गर्न आग्रह गरेको सिंहले बताए । घटनाबारे कूटनीतिक तहबाट पनि चीनसँग कुरा राखिएको उनको भनाइ छ ।
सिंहले संसद्लाई जानकारी दिइरहेका बेला विपक्षी सांसदले भने नाराबाजी गरेका थिए । सिंह सदनमा जानकारी दिएलगत्तै बाहिरिएपछि प्रश्न गर्न नपाएको भन्दै विपक्षी सांसदहरूले आपत्ति जनाएका छन् । कंग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेले चिनियाँ घुसपैठबारे आफूहरूले सदनमा चर्चा गर्न चाहे पनि रक्षामन्त्री छिटो–छिटो बोलेर बाहिरिएको भन्दै आपत्ति जनाएका छन् । झडपपछि प्रतिक्रिया दिँदै चीनले भने सीमा क्षेत्रमा ‘स्थिर’ अवस्था रहेको बताएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ्ग वेनबिनले भारतसँग सैन्य र राजनीतिकस्तरमा कुराकानी भइरहेको उल्लेख गरेका छन् । चिनियाँ सेनाका वेस्टर्न थिएटर कमान्ड प्रवक्ताले भने अवैध रूपमा सीमा पार गरेका भारतीय सैनिक चिनियाँ सैनिकसामु आएपछि विवाद भएको दाबी गरेका छन् ।
पूर्वी लद्दाखको गलवानमा करिब अढाई वर्ष अगाडि दुवै देशका सैनिकबीच झडप भएको थियो । त्यसक्रममा २० भारतीय सैनिक मारिएका थिए । चीनले आफ्नोतर्फको क्षतिबारे केहि उल्लेख गरेको छैन । यद्यपि, झडपमा ४५ चिनियाँ सैनिकले ज्यान गुमाएका दाबी गरिएको छ । घटनायता दुवैतर्फको सीमा क्षेत्रमा सैन्य तैनाथी बढाउँदै लगिएको छ । त्यसयता १६ चरणमा वार्ता भए पनि निकास निस्केको छैन ।
फेसबुकबाट तपाईको प्रतिक्रिया