नेप्थ्य व्याण्डसहितको टोली नेपालगञ्जमा

नेपालगञ्जमा मंसिर २९ गते हुने नेपथ्य लाइभ कन्सर्टका लागि नेप्थ्य व्याण्डसहितको टोली नेपालगञ्ज आइपुगेको छ ।
नेपालको चर्चित ब्याण्ड नेपथ्य ब्याण्डसँगको सहकार्यमा मानव सेवा आश्रमले नेपालगञ्ज रंगशालामा गर्न लागेको मानवताका लागि सांगीतिक यात्रा कन्सर्टका लागि टोली आज साँझ यहाँ आइपुगेको हो ।

नेपथ्य ब्याण्डका चर्चित गायक अमृत गुरुङ, किरण श्रेष्ठ, अर्पण शर्मासहित प्राविधिक समेत गरी ७० जनाको टोली रहेको छ । नेपथ्य लाइभ कन्सर्ट मूल समितिका संयोजक कृष्ण प्रसाद श्रेष्ठ, दानवीर एवं जग्गादाता जैकेश सिंह, आश्रमकी केन्द्रीय सदस्य सिर्जना ओली लगायतको टीमले टोलीलाई खादा र रुद्राक्ष मालासहित स्वागत गरेको थियो ।

सहयोगापेक्षी सडकआश्रित मानवहरुको सेवा गर्दै आइरहेको मानव सेवा आश्रमको भवन निर्माण र आश्रितको स्वास्थ्य उपचारका लागि आपतकालीन अक्षयकोष स्थापनार्थ कन्सर्ट गर्न लागिएको हो । गायक गुरुङले मानवता झल्किने र मानवता प्रवद्र्धनमा सहयोग पुग्ने गीतहरु कन्सर्टमा प्रस्तुत गर्नेछन् ।

कन्सर्टका लागि टिकट विक्रीसँगै अन्य तयारी पनि तिव्र पारिएको संयोजक श्रेष्ठले जानकारी दिए । भोलीदेखि मञ्च व्यवस्थापन लगायतको कार्य अगाडि बढाइने सुरक्षा तथा समारोेह स्थल व्यवस्थापन समितिका संयोजक जयनारायण शाहले जानकारी दिइन् ।

आश्रमले बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिकरुपमा कमजोर मानवहरुको उद्धार, उपचार, परामर्श, पारिवारिक पुनर्मिलन, लालनपालन, संरक्षण, मानवोचित व्यवस्थापन गर्दै आइरहेको छ ।

दानवीर एवं समाजसेवी जैकेश र सिंहले मानव सेवा आश्रमको भवन निर्माणका लागि डुडुवा गाउँपालिका वडा नं. ६ मा जग्गा दान गरेपछि भवन निर्माण प्रक्रिया शुरु हुन लागेको छ । सिंगो नेपाल राष्ट्रलाई नै सहयोगापेक्षी सडक आश्रित मानव मुक्त राष्ट्र निर्माण गर्ने महाअभियानसहित मानवसेवा आश्रमले यही बैशाख १ गतेबाट नेपालगञ्ज उपमहानगरपालिकाको वडा नं १० मा घर भाडामा लिई सेवा सञ्चालन गरिरहेको छ ।