सिद्धार्थनगरमा अतिक्रमित फुटपाथ हटाउन सुरु
२६ मंसिर २०७९, सोमबार

आवतजावतमा समस्या हुने गरी फुटपाथ अतिक्रमण भए पछि रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले हटाउन सुरु गरेको छ । सडक फुटपाथ अतिक्रमण बढेको र यसले सर्वसाधारणलाई आवत जावतमा समस्या पर्नुका साथै सहरको सौन्दर्यतासमेत धुमिल बनाएकाले हटाउन सुरु गरिएको नगरपालिकाले जनाएको छ ।
‘फुटपाथ अतिक्रमणले नगर कुरुप देखिएको छ, अर्कातर्फ सर्वसाधारणलाई हिँडडुल गर्न समस्या छ’, नगर प्रमुख इस्तियाक अहमद खाँनले भने, ‘हामीले अभियान नै चलाएर फुटपाथ खाली गराउन सुरु गरिरहेका छौं, यो अभियान निरन्तर रहने भएकाले सम्पूर्ण नगरबासीलाई जिम्मेवार भएर फुटपाथ नमिच्न म आग्रह गर्दछु ।’
नगरपालिकाले सडक फुटपाथ अतिक्रमण हटाउनका लागि नगर प्रहरी परिचालन गरेको छ । पहिलो पटकका लागि नगर प्रहरीहरु दैनिक खटिएर सडक फुटपाथ अतिक्रमण नगर्न आग्रह गरिरहेका छन् । ‘फुटपाथ अतिक्रमण गरेकाहरुलाई पहिलो पटकका लागि सचेत गराउँदैछौँ’, नगर प्रहरी प्रमुख मनोज मल्लले भने, ‘अटेर गरेको अवस्थामा अतिक्रमण गरेर राखिएको सामाग्री नियन्त्रणमा लिने गरेका छौँ ।’
विशेषगरी व्यवसायीहरुले बजार क्षेत्रका सडक फुटपाथ अतिक्रमण गरेका छन् । नगर प्रहरीले अतिक्रमण गरेर राखिएका सामाग्री नगरपालिकाको कार्यालयमा ल्याउने गरेका छन् । नगरपालिकाको कार्यालयमा आएको सामाग्री व्यवसायीले लिन आएको खण्डमा व्यवसाय दर्ता, बहाल कर, व्यवसाय नविकरण गरे–नगरेको समेत पहिचान गर्ने गरिएको छ ।
‘नियन्त्रणमा लिएको सामाग्री व्यवसायीले लिन आएको अवस्थामा सम्बन्धित व्यवसायको कागजी विवरण समेत क्रस चेक गर्ने गरेका छौँ’, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले भने, ‘यदि कैफियत देखिएको अवस्थामा कानुन बमोजिम प्रक्रियामा लग्ने गरेका छौँ ।’
उनले सडक फुटपाथ अतिक्रमण हटाउने अभियानले सर्वसाधारणलाई सहज पनि भएको र राजश्व नबुझाएका व्यवसायीले राजश्व समेत बुझाउन थालेको जनाए । उनका अनुसार फुटपाथ अतिक्रमण हटाउने अभियान अन्तर्गत तीन दिनमा करिब ६० हजार रुपैयाँ राजश्व समेत संकलन भएको छ । अहिले नगरका विभिन्न ठाउँमा नगर प्रहरी पुगेर सचेत गराउने गरिरहेका छन् । भैरहवामा गल्लामण्डी, नयाँ सडक, नारायणपथ, बेलहिया, बैंकरोड, बुद्धचोक, मिलनचोक लगायतका ठाउँ मा फुटपाथ अत्याधिक अतिक्रमण गरिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया