व्यापारीदेखि चर्चका सञ्चालकसम्म परे , एमालेको समानुपातिकमा
२३ मंसिर २०७९, शुक्रबार

काठमाडौं । नेकपा एमालेले समानुपातिक सांसद छानेर निर्वाचन आयोग पठाउने तयारी गरेको छ । आयोगले सिट संख्या तोकेपछि शुक्रबार सचिवालय बैठकबाट अनुमोदन गराएर आयोग पठाउन लागेको हो । प्रत्यक्षतर्फ ४४ सिट जितेको एमालेले समानुपातिक तर्फ ३४ सिट पाएको छ । समानुपातिकमा भने सबैभन्दा धेरै मत पाएपछि समानुपातिकतर्फका ३४ सांसद छान्न सचिवालय बैठक बोलाएको हो ।
समानुपातिक तर्फ एमालेले अन्य दलभन्दा धेरै मत पाएपछि निर्वाचन आयोगले दिएको सिट संख्यामा १९ महिला र १५ पुरुषलाई सांसद बनाउने तयारी गर्दै प्रस्ताव पनि अघि बढाएको छ । एमालेले तयार पारेको प्रस्तावमा आर्यतर्फ ६ महिला र ५ पुरुष, आदिवासी तथा जनजातीतर्फ ५ महिला र ५ पुरुष, मधेशीतर्फ ३ महिला र २ पुरुष, दलिततर्फ ३ महिला र २ पुरुष, थारुतर्फ १ महिला र १ पुरुष तथा मुस्लिममा एक महिला पठाउने छ । खस आर्य समुहबाट ५ पुरुष पठाउँदा रघुजी पन्त, एकनाथ ढकाल, कुमार दसौंदी, दयालबहादुर शाही, खिमलाल पोखरेल पर्ने निश्चित भएको छ । त्यसैगरी खस आर्यका ६ जना महिलामा मेनका पोखरेल, सरिता भूसाल, शोभा ज्ञवाली, बिजुला रायमाझी, निर्मला कोइराला र सम्झना थपलिया पर्ने छन् ।
यस्तै आदिवासी जनजातितर्फ १० मध्ये ५ महिला र ५ पुरुष पठाउनुपर्ने छ । यसअनुसार आदिवासी जनजाति पुरुष ५ जनामा देवीप्रसाद भट्टचन, हेमराज राई, कालुराम राई, भीमबहादुर खवास, सरोज डंगोल रहेका छन् भने आदिवासी जनजाती महिला तर्फ नैनकला थापा, सूर्यकुमारी श्रेष्ठ, उर्मिला थेबे, ईश्वरी घर्ती, रणकुमार बलम्पाकी रहेका छन् । यसैगरी एमालेले दलित ५ जना पठाउनुपर्ने छ । त्यसअन्तर्गत दलितर्फ २ पुरुषमा ईश्वरबहादुर रिजाल विश्वकर्मा, प्रभु हजारा दुसाध पर्नेछन् । महिलामा रुक्मिणी राना बराईली, हर्कमाया विश्वकर्मा र ईन्दिराकुमारी पन्थी रहेका छन् । मधेसी ५ सिटमा एमालेले पुरुषतर्फ २ जना पठाउने प्रस्ताव गरेको छ । गंगाप्रसाद यादव र अमृतलाल राजवंशी तथा महिलामा विनिता देवी, अमृता अग्रहरी र प्रतिक्षा तिवारी मुखिया पर्नेछिन । एमाले थारु महिला र पुरुष एक÷एक जना पठाउने प्रस्ताव गरेको छ । थारु पुरुषको एक नम्बरमा सत्यनारायण चौधरी र महिलामा अस्माकुमारी चौधरी छन् ।
मुस्लिम एक महिला पठाउँदा बन्दसूचीअनुसार रुही नाज पर्छिन् । खास आर्यबाट बन्द सूचीमा रहेका शाहीले पिछडिएको क्षेत्रको पनि प्रतिनिधित्व गर्दछन् भने आदिवासी जनजातीका पुरुषमा पर्ने कालुराम राई दृष्टिविहीन हुन् । जनजाती आदिवासीको पहिलो नम्बरमा रहेका भट्टचन गत आमनिर्वाचनमा नेपाली कांग्रेसको आदिवासी जनजातीको सूचीमा रहेका थिए ।त्यसैगरी मधेशी महिलाको दोस्रो नम्बरमा रहेकी अग्रहरी चुनावको ठिकअघि जसपाबाट एमालेका प्रवेश गरेकी हुन । त्यसैगरी मुस्लिम महिलातर्फ पहिलो नम्बरमा रहेकी रुही नाज पनि जसपाबाटै एमालेमा आएकी हुन् । मधेसी पुरुषमा रहेका अमृतलाल राजवंशी पनि कांग्रेसबाट एमाले प्रवेश गरेका हुन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया