अन्य देशलाई सन्तुलनमा राखेर चीनबाट फाइदा लिन सुझाव
१७ मंसिर २०७९, शनिबार

चीनले गरेको गरिबी निवारणबाट नेपालले पनि फाइदा लिनुपर्ने सरोकारवालाहरूले सुझाव दिएका छन् । नेपालले सबैसँग सन्तुलन सम्बन्ध राख्दै चीनबाट पनि भरपुर फाइदा लिनु पर्ने सुझाव उनीहरूले दिएका हुन् ।
गरिबी निवारणमा विश्वमै चीन एक नम्बरमा परेको बताउँदै उनीहरूले चीनले गरिबी निवारण तथा विकास निर्माणमा गरेको प्रगतिले अमेरिका लगायत पश्चिमा देशहरू आश्चर्यमा परेको जिकिर गरे । चिनियाँ कम्युनिष्ट पार्टीको हालै सम्पन्न २० औँ महाधिवेशनको अवसरमा नेपाल‐चीन मैत्री मञ्चले आयोजना गरेको कार्यक्रममा बोल्ने वक्ताहरूले चीनले गरेको विकासको प्रशंसा गर्दै त्यसबाट नेपालले पनि फाइदा लिनुपर्ने सुझाव दिए ।
कार्यक्रमका प्रमुख अतिथि रहेका मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले गरिबी निवारणमा चीनले अभूतपूर्व प्रगति गरेको उल्लेख गर्दै यो त्यहाँको राज्यले गरेको कुशल व्यवस्थापनले सम्भव भएको धारणा राखे । चीनले गरिबी निवारणमा गरेको प्रगतिलाई अध्ययन, अनुसन्धान गरी नेपाल पनि सोही अनुसारको काम गर्नुपर्ने सुझाव उनले दिए । उनले भने, ‘चिनियाँ कम्युनिष्ट पार्टीले सम्पन्न गरेको २० औँ महाधिवेशनपछि चयन भएका पदाधिकारीहरूले चीनलाई झन् प्रगतितर्फ अगाडी बढाउने विश्वास सबैले लिएको छ ।’
अर्थ राजनीतिलाई चीनले फरक ढङ्गले अगाडी बढाइरहेको बताउँदै उनले कृषिमा पनि चीनले उत्कृष्ट काम गर्दै कृषिमा आधुनिकीकरण र बजारीकरणले विश्वमै नमुना बनेको बताए । कृषिमा मात्र होइन, शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि चीन विश्वमै अग्रस्थान लिइरहेको उनको भनाई थियो । उनले यातायातको सञ्जाल, टेक्नोलोजीलगायतमा पनि उच्चतम प्रगति गरेको र यसबाट नेपालले पनि लाभ लिनुपर्ने बताए । चीनले यी सब काम आफ्नो बलबुतामा गरेको र यसबाट नेपालले पनि शिक्षा लिनुपर्ने उनले बताए ।
चीन र नेपालीबीच सन् १९५५ देखि औपचारिक सम्बन्ध भएपनि अनौपचारिक सम्बन्ध धेरै पुरानो रहेको उनले बताए । अरनिको कला र सीपलाई लिएर नेपाल–चीनबीच सम्बन्ध झन् बलियो भएको बताउँदै उनले चीनमा अरनिको शालिक हेर्दा नेपाली जनतालाई गर्व लागेको बताए । उनले भने, ‘नेपालको सार्वभौमसत्ता र स्वाभिमानलाई चीनले सधैँ सम्मान गरेको छ। ।’
कार्यक्रममा वाम विश्लेषक श्याम श्रेष्ठले चीनले आर्थिक रूपमा विकास मात्र गर्दै अमेरिकालाई पनि पछाडि पारेको धारणा राखे । ‘चीनको अवस्था हेर्दा त्यहाँ गरिबी निवारण गर्ने अवस्था थिएन । तर छोटो समयमा त्यहाँको गरिबीलाई करिब–करिब शून्यमा झारेको छ,’ भने ।
चीनको शान्त, भद्र र अहस्तक्षेपकारी विदेश नीति नेपालको स्वतन्त्रता र सार्वभौमसत्ताको रक्षाकवच भएको उनले दाबी गरे । विकास निर्माण तथा हरेक क्षेत्रमा गरेको प्रगति हेर्दा चीन समाजवादी बाटोमा लागिसकेको महसुस गर्न सकिने उनले बताए ।
चीनले अघि सारेको बीआरआई परियोजनाले नेपाललाई कुनै हानी नगर्ने बताउँदै उनले बीआरआईलाई अमेरिकाले विवादास्पद बनाएको दाबी गरे । उनले भने, ‘चीनको विकासबाट पश्चिमाहरू तर्सिए जसरी नेपाल तर्सिनु हुँदैन ।’
चीन र अमेरिकाबीचको प्रतिस्पर्धाबाट जोगिएर नेपालले शान्त र सन्तुलित परराष्ट्र नीत अख्तियार गरेर चीनबाट फाइदा लिन सकिने उनले तर्क गरे ।
अर्का वाम विश्लेषक झलक सुवेदीले पनि चीनले अघि सारेको ‘साझा समृद्धि’ को अवधारणाबाट नेपालले फाइदा लिनुपर्ने सुझाव दिए । २० औँ महाधिवेशनको उपलब्धि नै राष्ट्रपति सी जिनपिङले गरिब र धनीबीचको खाडल पुर्नु रहेको बताए । राष्ट्रपति सीले चीनमा समतामूलक समाज बनाउने अभियान चलाएका छन्,। त्यो अभियान महाधिवेशनपछि झन् सशक्त हुने उनले बताए । चीनले सबै देशसँग सन्तुलन सम्बन्ध राखेर चीनसँग विशेष फाइदा लिनुपर्ने धारणा राखे ।
मञ्चका अध्यक्ष कल्याणराज शर्माको अध्यक्षतामा भएको कार्यक्रममा काठमाडौँ युनिभर्सिटीका डा। उद्धव प्याकुरेलले चीनले गरेको प्रगतिबाट विश्व आश्चर्यचकित मात्र नभएर उसले गरेको विकासको अनुसरण पनि गर्न थालेको बताए ।
नेपाल खुल्ला विश्व विद्यालयका प्राध्यापक डा। खगेन्द्र प्रसाईंले चीनले अघि सारेको परियोजनाबाट नेपालले फाइदा लिन सक्यो भने त्यो सरकारले नेतृत्व गर्ने प्रधानमन्त्रीले चुनावमा दुई तिहाइ बहुमत ल्याउन सक्ने विश्लेषण गरे ।
तर चीनले नेपालमा गरेको प्रगतिलाई अमेरिका र भारतले चुनौतीको रूपमा लिएको उनको विश्लेषण थियो । चीन र अमेरिका बीचमा रहेको शत्रुताको सम्बन्धबाट नेपाल अलग रहनु पर्ने सुझाव दिँदै उनले भने, ‘चीन र नेपालको सम्बन्धले विश्व द्वन्द्वमा फँस्नुहुँदैन ।’ नेपाल र चीनबीचको सम्बन्ध हाइड्रोपावर, पुल, सडक निर्माणमा सीमित मात्र नभएर विश्वमा पनि आफ्नो प्रभाव देखाउने खालको होस् भन्दै उनले द्वन्द्वमा रहेको विश्वबाट सुरक्षित रहनका लागि नेपाल–चीन सम्बन्ध बलियो बनाउनु पर्ने सुझाए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया