अफगानिस्तानका नागरिक जटिल भोकमरीको संकटमा, दुई करोड २८ लाख प्रभावित
२८ कार्तिक २०७९, सोमबार
अफगानिस्तानका नागरिक विश्वको सबैभन्दा जटिल भोकमरी संकटमा रहेको संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन (एफएओ)ले जनाएको छ ।
अघिल्लो वर्ष तालिबानले नेतृत्व लिएदेखि नै अफगानिस्तानमा खाद्य असुरक्षा बढेको प्रतिवेदनले उल्लेख गरेको छ ।
एफएओले सन् २०२२ मा अफगानिस्तानमा थप खाद्य असुरक्षा बढेको जनाएको हो । खामा प्रेसका अनुसार लामो खडेरी, द्वन्द्व र राजनीतिक अस्थिरताका कारण भोकमरीको समस्याले दुई करोड २८ लाख मानिस प्रभावित भएका छन् ।
यो कुल जनसङ्ख्याको आधाभन्दा धेरै संख्या हो । प्रतिवेदनले सन् २०२२ मा तीब्र खाद्य असुरक्षा साथै एसिया र प्रशान्त क्षेत्रको आर्थिक, वातावरणीय र विकासका मुद्दालाई पनि उजागर गरेको छ । यसबाहेक काबुलका बासिन्दाले आर्थिक संकटका कारण खाद्यान्नको मूल्य बढेकोमा चिन्ता व्यक्त गरेका छन् ।
विश्व खाद्य कार्यक्रमले पनि अफगानिस्तानको आर्थिक संकटबारे चिन्ता व्यक्त गरेको छ । चार दशक लामो द्वन्द्व, जलवायु संकट, कोभिड–१९ र सामाजिक–आर्थिक संकटका कारण विगत एक वर्षमा देशभरिका मानिसहरु रोजगारी र जीविकोपार्जनबाट वञ्चित भएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया