सप्तरी २ मा ठाकुरले चुनाव जित्ने पक्का
१८ कार्तिक २०७९, शुक्रबार

सप्तरी । मंसिर ४ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सप्तरीको क्षेत्र नम्बर २ मा त्रिकोणात्मक प्रतिस्पर्धा हुने भएको छ । यहाँबाट जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष सिके राउत संगै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट जयप्रकाश ठाकुरले उम्मेदवारी दिएका छन् । दुईजना राष्ट्रिय अध्यक्ष सप्तरी २ बाटै उम्मेदवारी दिएपछि सबैको चासो बढेको हो ।
२०७४ को चुनावमा यादव यसै क्षेत्रबाट निर्वाचित भएका थिए भने राउतले पहिलो चोटी निर्वाचनमा भाग लिएका छन् । जसपा अध्यक्ष यादवले गएको ५ वर्षमा गरेको विकासलाई मुख्य आधार बनाएर जनता माझ उत्रिएका छन् भने राउतले किसान आन्दोलनको मुद्दालाई अगाडि सारेका छन् ।
यता सत्ता गठबन्धनका उम्मेदवार ठाकुर पनि प्रतिस्पर्धामा बलियो नै देखिएका छन् । तीनै उम्मेदवारबीच रोमाञ्चक प्रतिस्पर्धा हुने भए पनि ३० बैशाखमा भएको स्थानीय तहको निर्वाचनको आधारमा उपेन्द्रलाई यसपालि जित निकाल्न सजिलो भने छैन । ३० बैशाखमा भएको स्थानीय चुनावको मत परिणामलाई आधार मान्ने हो भने एमाले–जसपा गठबन्धनबाट उम्मेदवार भएका यादवलाई चुनाव जित्न कठिन हुने देखिन्छ ।
स्थानीय तहको चुनावमा वडाध्यक्षहरूले प्राप्त गरेको मतका आधारमा सप्तरी २ मा सत्ता गठबन्धन १२ हजार बढी मतले अगाडि छ ।
सत्ता गठबन्धनमा रहेका दलका वडाध्यक्षहरुले स्थानीय तहको निर्वाचनमा प्राप्त गरेको मतमा कांग्रेसको वडाध्यक्षका उम्मेदवारहरुले १० हजार ८ सय ७ मत, लोसपाका वडाध्यक्षका उम्मेदवारहरुले १० हजार ४ सय ३५ मत, माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवारहरुले ९ हजार ५ सय ३४ र एकीकृत समाजवादीका उम्मेदवारहरुले २ हजार ४ सय ८ मत प्राप्त गरेका थिए । सत्ता गठबन्धनका वडाध्यक्षका उम्मेदवारहरूको मत एक ठाउँमा राख्दा ३३ हजार १ सय ८४ मत हुन आउँछ .
हालै समपन्न स्थानीय तहको मत जोड्दा एमाले–जसपा गठबन्धनका पक्षमा १९ हजार ६८ मत देखिन्छ भने सत्ता गठबन्धनको मत ३६ हजार आठ सय ९२ पुग्छ । यस आधारमा आफ्नो जीत सुनिश्चित रहेको सत्तापक्षीय गठबन्धनका साझा उम्मेदवार ठाकुरको भनाइ छ ।
यसैगरी स्थानीय तहकै निर्वाचनमा जसपाका वडाध्यक्षहरुले प्राप्त गरेको मत १४ हजार ४ सय ३ मत रहेको छ भने एमालेका वडाध्यक्षका उम्मेदवारहरुले ५ हजार ९ सय ५१ मत प्राप्त गरेका थिए ।
यसरी दुवै दलको मत एक ठाउँमा राखेर हेर्ने हो भने २० हजार ३ सय ५४ मत हुन आउँछ । यस आधारमा जसपा र एमालेको मतभन्दा सत्ता गठबन्धन मत १२ हजार भन्दा बढी मतले अगाडि छ ।
स्थानीय तहको चुनावमा दुवै गठबन्धनका वडाध्यक्षहरुले प्राप्त गरेको मतमा सत्ता गठबन्धनले पाएको मत ३३ हजार १ सय ८४ रहेको छ भने एमाले–जसपा गठबन्धनले प्राप्त गरेको मत २० हजार ३ सय ५४ रहेको छ । र, यसको आधारमा उपेन्द्रलाई चुनाव जित्न कठिन देखिएको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया