नेपाली पुजारी जसको चर्चा भारतिय प्रधानमन्त्रीले मोदीले गर्छन् कुरा , काशी विश्वनाथ मन्दिरमा नेपाली पुजारीको मान

 हिन्दुहरूको आस्थाको केन्द्र काशी विश्वनाथ मन्दिर जहाँ दैनिक लाख बढी दर्शनार्थीहरु आउँछन् । त्यसमा सयौं नेपालका पनि हुन्छन् । त्यही मन्दिरमा एकजना मुख्य पुजारी नेपाली छन् । ठूलो र प्रसिद्ध मन्दिरको पुजारी नेपाली भएकै कारण यहाँ नेपालीको मान वृद्धिमा पनि सहयोग पुगेको छ ।

कान्तिपुरको आग्रहमा मन्दिरमै बिहीबार बिहान ९ बजे बोलाएका टेकनारायाण उपाध्याय(पौडेल) उक्त समयमा मन्दिरको मूल गर्भगृहमा पूजाआजामै व्यस्त थिए । उनले दिएका एकजना सहयोगीको सम्पर्क नम्बरको माध्यमबाट उनीसमक्ष पुगेपछि पूजा सकेर मन्दिरबाट बाहिरिएका उनी मन्दिरमा आएका दर्शनार्थीहरुबाट घेरिन पुगे । उनलाई खुट्टा छोएर ढोग्नेको लाइन नै लागेको थियो । मन्दिरकै अन्य पुजारीहरुले विभिन्न सर सल्लाह लिन खोजिरहेका थिए । बल्लतल्ल दर्शनार्थीबाट छुट्टिएर आएका उपाध्यायाले भने– ‘मेरो दिनचर्या नै यस्तै छ, भगवान र उनका भक्तहरुमाझ बित्दैछ।’

वि.स.२०४४ सालमा १५ वर्षको उमेरमा एकजना आफन्तका साथ लागेर आध्यात्म विषयको संस्कृत शिक्षा ग्रहणका लागि वाराणसी आइपुगेका बागलुङ काठेखोला गाउँपालिका–२ भीमपोखराका पौडेललाई एकदिन प्रसिद्ध काशी विश्वनाथ मन्दिरको पुजारी त्यसमा पनि मुख्य नै बन्छु भन्ने लागेको थिएन । लक्ष्य पनि त्यही थिएन, त्यही भएर उनले पुजारी बन्नु अगाडि भारतीय सेनामा धर्मगुरुको जागिर गरेका थिए, केही समय संस्कृतको अध्ययापन पनि गराए । तर, उनका पिताजी चुडामणि जो ज्योतिष थिए, कर्मकाण्डका जानकार र धार्मिक कथावाचकका रूपमा चिनिएका थिए । उनको इच्छा भने छोराले काशीमै त्यो पनि अध्यात्म क्षेत्रमै काम गरोस् भन्ने रहेछ । ‘मैले अध्यापन गर्दा गर्दै सेनामा जागिर खान पुगेको थिए । तर, त्यसका लागि पिताजीको आदेश भएन,’ पुजारी पौडेलले भने ‘उनको इच्छा अनुसार मैले बनारस नछोड्ने निर्णयमा पुगेको थिए ।’

प्रसिद्ध काशी विश्वनाथ मन्दिर त्यही बेला सरकारीकरण हुन पुग्नुले उनको भाग्य खुल्यो । उत्तर प्रदेश सरकारले सन् २००० मा ५ जना पूजारीका लागि विज्ञापन खुलाएको थियो । ४ सय ८० जना प्रतिस्पर्धी थिए । दोस्रो नम्बरमा उनको नाम निस्कियो । परीक्षा पास भएरै पूजारी भएको उनले सुनाए । दुई वर्षमै मुख्य पुजारीको विज्ञापन निस्क्यिो । उनले अर्को अन्तर्वार्ता दिए र सन् २००२ देखि नै काशी विश्वनाथ मन्दिरको मुख्य पुजारी भएर काम गर्दै आएका छन् । ९ वर्ष पछाडि उमेरले ६० पुगेपछि नियमानुसार उनले अवकास पाउने छन् ।