दलित समुदायको मानव अधिकार जोखिममा

काठमाडौँ — नेपाल दलित समुदायको मानव अधिकार जोखिममा रहेको एक प्रतिवेदनले देखाएको छ । दलित समुदायमाथि जातकै आधारमा हुने अत्याचारका घटना दिन प्रतिदिन बढ्दो अवस्थामा रहेको, तर त्यस्ता घटना बाहिर नआई राजनीतिक दबाब, आर्थिक प्रलोभन र लेनदेनमा मिलापत्र, पीडितको असुरक्षा, कानुनी ज्ञानको अभाव र भौगोलिक जटिलता जस्ता कारणले बाहिर नआउने गरेको अध्ययनको निष्कर्ष छ ।

दलित अधिकारको क्षेत्रमा क्रियाशील समता फाउन्डेसनले सार्वजनिक गरेको अध्ययन प्रतिवेदन ‘दलित मानव अधिकार पुस्तक-०७८’ ले दलित समुदायको मानव अधिकारको अवस्था जोखिममा रहेको जनाएको हो ।

प्रतिवेदनअनुसार ०७८ सालमा जातकै आधारमा विभिन्न प्रकृतिका ८८ वटा मानव अधिकार उल्लंघनका घटना भएका छन् ।

त्यसमध्ये १० वटा घटनामा मात्रै जिल्ला अदालतहरूबाट कानुनी उपचार भएको छ । त्यसमध्ये पनि तीन वटा मुद्दामा मात्रै दोषीउपर सजाय भएको छ, बाँकीले सफाइ पाएका छन् । हाल ३४ वटा मुद्दा अदालतमा विचाराधीन छन् भने प्रतिवादी फरार हुँदा १९ वटा मुद्दा प्रहरी कार्यालयमै थन्किएका छन् । १३ वटा मुद्दामा भने कानुनी प्रक्रिया नै अघि बढेको छैन । १२ वटा मुद्दा भने मिलापत्रमा टुंग्याइएको छ । वर्तमान कानुनअनुसार जातीय विभेद र छुवाछुतका मुद्दा सामाजिक अपराध र सरकारबादी मुद्दा हुन् । तर, अनुसन्धान अधिकारीको लापरबाहीका कारण पीडितले न्याय पाउन सकेका छैनन् ।