प्रधानमन्त्री देउवा , माओवादी अध्यक्ष प्रचण्ड सहितका नेताले भने पहिला नाका खुल्ला गर्नु पर्यो
३० भाद्र २०७९, बिहीबार

काठमाडौँ — चारदिने नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुसँग नेपाली पक्षले लामो समयदेखि अवरुद्ध तातोपानी र रसुवागढी नाका, बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनालगायत विषय उठाएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र परराष्ट्रमन्त्री नारायण खड्कासँग मंगलबार भएका भेटवार्तामा दुई मुलुकबीचका सरोकारबारे चर्चा गरिएको हो । भेट छुट्टाछुट्टै भए पनि नेताहरूले चिनियाँ पक्षसँग समान धारणा राखेका छन् ।
संसद् सचिवालय, परराष्ट्र मन्त्रालय तथा एमाले र माओवादीका नेताहरूका अनुसार नेपाली पक्षले जनकंग्रेस अध्यक्ष लीलाई नेपाल एक चीन नीतिमा निरन्तर प्रतिबद्ध रहेको बताएको थियो । बीआरआईअन्तर्गतका परियोजना अघि बढाउन पनि आग्रह गरिएको थियो । सन् २०१७ मा बीआरआईको सदस्य मुलुक बनेको नेपालले त्यसबाट हालसम्म लाभ लिन सकेको छैन । नेपाली पक्षले कोभिड–१९ महामारीका बेला घर गएका चिनियाँ कामदारलाई फर्काउन पनि आग्रह गरेको छ । नेपाली नेताहरूले चिनियाँ सहयोग र लगानी बढाउन पनि चिनियाँ पक्षलाई आग्रह गरेका छन् ।
चिनियाँ राष्ट्रपति सी चिनफिङका विश्वासपात्र लीले नेपालले लिँदै आएको एक चीन नीतिप्रति प्रशंसा गर्दै अन्य मुलुकले नेपालमा गर्ने गतिविधिलाई लिएर सुरक्षा संवेदनशीलताको विषय उठाएका छन् । उनले नेपालले आफ्नो प्राथमिकता आफैं तय गर्नुपर्ने धारणा पनि राखेका छन् । बीआरआईको कार्यान्वयन सम्झौता गरेर कार्यान्वयनमा लान लीले नेपाललाई आग्रह गरेका छन् । चीनका विदेश मन्त्री वाङ यी गत चैतमा नेपाल भ्रमणमा आउँदा बीआरआई परियोजना अघि बढाउने विषयमा सम्झौता गर्न नेपाली पक्षलाई आग्रह गरिएको थियो । नेपालले सहुलियत ऋण र अनुदान मात्र स्वीकार गर्ने भनेपछि सम्झौता हुन सकेन ।
फेसबुकबाट तपाईको प्रतिक्रिया