चिनियाँ नेताका कारण काठमाडौंको बानेश्वर-कालीमाटी सडक पटक पटक यातायात बन्द नेपाली जनतालाई सास्ती

काठमाडौं । चिनियाँ जनकंग्रेसको स्थायी समितिका अध्यक्ष ली चान्सुको भ्रमणका कारण काठमाडौंको बानेश्वर-कालीमाटी सडकमा सोमबार दिउँसो पटक पटक यातायात बन्द गरियो ।

सोमबार अपरान्ह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका अध्यक्ष ली पहिले सोल्टी होटल गए । उनको सुरक्षाको लागि कोटेश्वर-बानेश्वर-माइतीघर-थापाथली-त्रिपुरेश्वर-कालीमाटीको सडक खाली गराइएको थियो । जसको कारण काठमाडौंको अन्य क्षेत्रका सडक पनि प्रभावित भयो ।

लीले सोल्टी होटल पुगेपछि केहीबेर आराम गरेका थिए, त्यतिबेला भने सडक जाम खुल्यो । केहीबेरपछि ली सभामुखसँग द्विपक्षीय भेटवार्ताका लागि नयाँ बानेश्वरस्थित संघीय संसद भवनतर्फ निस्किए । त्यतिबेला फेरि बानेश्वर-माइतीघर-थापाथली-त्रिपुरेश्वर-कालीमाटी सडक खाली गरियो ।