नेपाली सेनालाई प्रधानसेनापतिको निर्देशन, ‘संवैधानिक जिम्मेवारी पुरा गर्न तयारी अवस्थामा रहनू’
२९ भाद्र २०७९, बुधबार
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिक विवादमा तानिएका बेला नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनालाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन् । उनले नेपाली सेनाले संवैधानिक जिम्मेवारी पुरा गर्नुपर्ने अवस्था तयारी अवस्थामा बस्न निर्देशन दिएका हुन् ।
नागरिकता विधेयकका केही प्रावधानप्रति असन्तुष्टि देखाएका कारण राष्ट्रपति भण्डारीलाई अहिले विवादमा तानिएको छ । राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संवैधानिक दायरा मिचेको आरोप सत्ता पक्षीय दलहरुले लगाएका छन् । नागरिकता विधेयकबारे अहिले राष्ट्रपति भण्डारीले विभिन्न राजनीतिक दलका नेता, कानूनविद र सुरक्षा निकायका पूर्वसुरक्षा उच्च अधिकारीहरुसँग परामर्श गरिरहेकी छन् ।
राष्ट्रपति विवादित रहेकै समयमा नेपाली सेनाका प्रधानसेनापति शर्माले राष्ट्रिय हितको संरक्षण, प्रर्बधन र संवैधानिक दायित्व गर्नुपर्ने जिम्मेवारी नेपाली सेनाको काँधमा आएको भन्दै तयारी अवस्थामा रहन भनि दिएको निर्देशन अर्थपूर्ण रहेको चर्चा राजनीतिक वृतमा सुरु भएको छ ।प्रधानसेनापति शर्माले जिम्मेवारी सम्हालेको एक वर्ष पुगेको अवसरमा आइतबार सैनिक मुख्यालय जंगी अड्डामा आयोजना गरिएको एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा यस्तो निर्देशन दिएका हुन् ।
नेपाली सेनालाई प्राप्त संवैधानिक जिम्मेवारीलाई उत्कृष्ट रूपमा निर्वाह गर्नको साथै राष्ट्रिय हितको संरक्षण तथा प्रवर्द्धन गर्नका लागि सदैव तयारी अवस्थामा रहन नेपाली सेनाका सकलदर्जालाई निर्देशन दिएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा आज जारी विज्ञप्तिमा पनि उल्लेख गरिएको छ । सम्बोधनकै क्रममा शर्माले हाल विकसित अन्तराष्ट्रिय, क्षेत्रीय तथा राष्ट्रिय सुरक्षा वातावरणको सुक्ष्म अध्ययन र विश्लेषण पनि नेपाली सेनाले गरिरहेकाे बताएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया