मधेशका हैवी वेट नेता प्रत्यक्षमा भिड्दै
२१ भाद्र २०७९, मंगलवार

जनकपुरधाम । मधेशका हैवी वेट नेताहरु प्रत्यक्ष निर्वाचनमा भिड्ने भएका छन् ।
नेपाली कांग्रेसका पूर्व उप–सभापति विमलेन्द्र निधि बाहेक सवै क्षेत्र परिवर्तन गरेर भए पनि प्रत्यक्ष निर्वाचनमा भिड्ने भएका छन् । पार्टीहरुका क्षेत्रीय समितिले प्रतिनिधिसभा र प्रदेशसभाको उम्मेदवारहरुका नाम धमाधम सिफारिस गर्न थालेका छन् । हुनत मधेशमा यस पटक नेकपा एमाले, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र पाँच दलीय गठबन्धन विरुद्ध निर्वाचन हुने देखिए पनि सोमबारसम्म गठबन्धनले सिट बाँडफाँट गर्न सकेका छैनन् तर दलहरु आ–आफ्ना उम्मेदवारहरु सिफारिस गरी सार्वजनिक समेत गरी सकेका छन् । नेपाली कांग्रेसको तर्फवाट यस पटकको निर्वाचनमा पार्टीका पूर्व उप–सभापति विमलेन्द्र निधि बाहेकका हैवी वेट नेता प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार हुने भएका छन् । उनले आफ्नो नाम आफै समानुपातिकमा सिफारिस गराएपछि धनुषा निर्वाचन क्षेत्र नम्वर तीनको राजनीति भने यस पटक पनि अन्य दलको हातमा जाने निश्चित देखिन्छ । नेपाली कांग्रेसका प्रभावशाली नेताहरु आनन्द ढुङ्गाना, महेन्द्र यादव, मुक्ता यादव, रामकृष्ण यादव, अमरेशकुमार सिंह, किरणकुमारी यादव चुनावी मैदानमा छन् । धनुषा निर्वाचन क्षेत्र नम्वर २ मा रामकृष्ण यादव र मुक्ता यादव पक्षधरबीच नाम सिफारिसकै लागि ठूलो विवाद भएको छ । दुवै पक्षधरले आफ् नो नेताको एकल नाम सिफारिस गर्न क्षेत्रीय समितिलाई दबाब दिएपछि त्यहाँ विवाद सृजना भएको थियो । सर्लाहीमा पनि भारतको एकदमै नजिक मानिने अमरेशकुमार सिंहको नाम भने क्षेत्रीय समितिले सिफारिस गरेको छैन् । उनको स्थानमा पार्टीका महामन्त्री गणनकुमार थापाको नाम सिफारिस गरिएको छ तर थापाले काठमाण्डुबाटनै चुनाव लड्ने भनि सकेपछि अन्ततः सिंहनै त्यहाँबाट उम्मेदवार हुने निश्चित देखिन्छ ।
त्यस्तै, नेकपा एमालेवाट रघुवीर महासेठ, जुली महासेठ, प्रभु साह र सत्यनारायण मण्डल लगायतका हैवी वेट नेताहरु चुनावी मैदानमा देखिएका छन् । धनुषा निर्वाचन क्षेत्र नम्वर ४ वाट रघुवीर र ३ वाट जुलीको नाम सिफारिस गरिएपनि दुवै जना मध्ये एक जना उम्मेदवार हुने सम्भावना छ । हुनत एमालेको विधानमा श्रीमान श्रीमती उम्मेदवार हुने व्यवस्था छैन् । दुबै जना मध्यये एक जना मात्र उम्मेदवार हुनेछन् ।
त्यस्तै जनता समाजवादी पार्टी जसपावाट पार्टीका अध्यक्ष उपेन्द्र यादव सहित मुख्यमन्त्री लालबाबु राउत, भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री विजयकुमार यादव, अर्थमन्त्री शैलेन्द्रप्रसाद साह, केन्द्रीय कार्यकारिणी सदस्य राजकिशोर यादव, डा. सुरेन्द्र यादव, डा. सूर्यनारायण यादव लगायतका हैवी वेट नेताहरुलाई प्रत्यक्ष तर्फ प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारका लागि सिफारिस गरिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया