तिब्बतमा ९२० दिनपछि देखियो कोरोना, केही नेपाली पनि संक्रमित

नेपाल–चीन व्यापारिक गतिविधि नै अस्थिर पार्ने गरी चीनको तिब्बत स्वशासित क्षेत्रमा ९२० दिनपछि पुनः कोरोना देखिएको छ । सन् २०२० मा कोभिड–१९ महामारी सुरू भएयता तिब्बतमा जम्मा एकजना मात्रै संक्रमित भेटिएका थिए ।

चीनको मुख्यभूमि र छिमेकी नाकाहरूबाट आउजाउ हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाइए पनि एकाएक अगस्टको पहिलो साता तिब्बतमा कोरोना महामारी फैलिएको छ । पहिलाको तीन÷तीन दिनमा थपिँदै आएको लकडाउन अवधि हाल अनिश्चितकालीन भएको छ जसका कारण त्यहाँ रहेका नेपालीहरू पनि प्रभावित भएका छन् भने नेपाली व्यवसायीहरू दसैंको मुखमा झनै प्रभावित हुने भएका छन् ।
अगस्ट २१ मा चीनको राष्ट्रिय स्वास्थ्य आयोगको रिपोर्ट अनुसार दुई साताभित्रैमा लक्षणरहित समेत गरेर ६ हजारलाई निगरानीमा राखिएको छ भने २१ जना निको हुँदा ४० हजारलाई क्वारेन्टिनमा राखिएको छ।

नेपालीको व्यवसाय तथा आउजाउ हुने तिब्बतका अधिकांश क्षेत्रहरूमा संक्रमण भेटिएपछि नेपालीहरू प्रभावित भएका ल्हासास्थित नेपाली महावाणिज्य दूतावासले जानकारी दिएको छ । ‘केही नेपालीहरू पनि संक्रमित भएका छन्, सोमबार दिउँसो एक जना भेटियो,’ वाणिज्यदूत जिम्सन रुम्दाली राईले भने, ‘संक्रमितको सम्पर्कमा रहेकाहरूलाई पनि क्वारेन्टिनमा लगिएकाले अझै केही दिनपछि मात्रै यकिन संख्या थाहा हुन्छ ।’ कोरोनाका कारण हालसम्म तिब्बतमा कुनै पनि मृत्युको घटना छैन ।

विश्वको छानो भनिने तिब्बतमा अक्सिजनको मात्रा कम हुन्छ । कोरोना पनि श्वासप्रश्वाससँग सम्बन्धित रोग भएकाले तिब्बतमा यसको खतरा तुलनात्मक बढी हुने स्वास्थ्य विज्ञहरूले बताएका छन् । वाणिज्यदूत राईका अनुसार मुख्य भूमिको तुलनामा स्वास्थ्य प्रणाली कमजोर भएको र प्राकृतिक रुपमै अक्सिजनको कमी हुने ठाउँ भएकाले चीनले सक्रिय सतर्कता जनाइरहेको छ । हाल स्वास्थ्य संस्थाहरूबाहेक सरकारी कार्यालयदेखि नाकाहरू बन्द गरेरै यसको व्यवस्थापनमा शक्ति खर्चिरहेको छ ।