चुनावमा एक लाख १५ हजार म्यादी प्रहरी परिचाल नहुने
१६ भाद्र २०७९, बिहीबार

काठमाडाैं । आउँदाे मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा एक लाख १५ हजार म्यादी प्रहरी परिचालन गरिने भएको छ ।
आउँदाे चुनावका लागि ७१ हजार ६ सय ९३ प्रहरी कर्मचारी र एक लाख १५ हजार म्यादी प्रहरी परिचालन गरिने भएको हो ।
निर्वाचन प्रणाली तथा समानुपातिक प्रणालीतर्फको निर्वाचनका लागि नेपाल प्रहरीलाई सात अर्ब ९९ करोड ४९ लाख दुई सय रुपैयाँ बजेट प्राप्त भएको छ ।
नेपाल प्रहरीका लागि एक अर्ब २३ करोड ५० लाख ९९ हजार दुई सय तथा म्यादी प्रहरीका लागि पाँच अर्ब ८६ करोड ३९ लाख ५० हजार रुपैयाँ बजेट छुट्याइएको हो । याे बजेट अर्थ मन्त्रालयबाट स्वीकृत भएर आएको प्रहरी प्रधान कार्यालयकाे प्रबन्ध निर्देशनालयका प्रहरी नायब महानिरीक्षक (डीआईजी) दीपक थापाले जानकारी दिए ।
चुनावकाे समयमा प्रहरी कर्मचारीतर्फ जिल्लाभित्र खटिने प्रहरीले सात दिनका लागि र बाहिर जिल्लामा खटिने प्रहरीले १३ दिनका लागि दैनिक भ्रमण भत्ता पाउनेछन् । याे भत्ता सिपाहीका हकमा प्रतिव्यक्ति प्रतिदिन एक हजार दुई सय रुपैयाँ हुनेछ । अन्य तहअनुसार भत्ता उपलब्ध हुने जनाइएको छ । उनीहरूले चुनावकाे मुख्य चार दिन प्रतिदिन तीन सय रुपैयाँका दरले खाजा खर्च पनि प्राप्त गर्नेछन् ।
उनीहरूका लागि पाँच अर्ब ८६ करोड ३९ लाख ५० हजार रुपैयाँ विनियोजन भएको छ । ४० दिनका लागि म्यादी प्रहरीले तलब, रासन, पोसाकलगायत सबै भत्तासहित जोडेर झन्डै ५० हजार रुपैयाँ हाराहारी तलब प्राप्त गर्नेछन् । यसपालि दुर्गममा खटिनेका लागि केही सेवा सुविधा थप गरिएको छ ।
म्यादी प्रहरीले प्रहरी जवानसरहको सुविधा प्राप्त गर्नेछन् । सबै हिसाब गर्दा उनीहरूले ४० दिनका लागि कम्तीमा ४९ हजार दुई सय ६० रुपैयाँ तलब प्राप्त गर्नेछन् । हिमाली तथा दुर्गममा खटिनेहरूका लागि भने ५० हजार रुपैयाँ नाघ्ने छ ।
म्यादी प्रहरीले तलब मात्रै ३४ हजार सात सय ६० रुपैयाँ प्राप्त गर्नेछन् । त्यसका साथै रासनबापत सात हजार दुई सय रुपैयाँ पाउने छन् । तर दुर्गममा खटिनेका लागि त्यहाँको रासन बराबरकै प्राप्त गर्ने हुँदा केही थपिने छ । पोसाकका लागि छ हजार रुपैयाँ पाउने छन् । यसमा पनि हिमाली जिल्लामा खटिनेले (ज्याकेट खरिद) मा एक हजार रुपैयाँ थप पाउने छन् । हिमाली जिल्लामा १५ हजार म्यादी प्रहरी खटिनेछ ।
यस्तै आवतजावत भाडा खर्च एक हजार रुपैयाँ दिइनेछ । खाजा खर्च चार दिनको प्रतिदिन तीन सयका दरले पाउने छन् । यो खर्च भने सबै प्रहरीले पाउने छन् । म्यादी प्रहरीका लागि मापदण्ड तय हुँदैछ । आउँदाे असोजमा म्यादी प्रहरी भर्ना प्रक्रिया सुरु हुने केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले जानकारी दिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया