एमालेको बहिष्कारकाबीच राष्ट्रियसभा बैठकबाट तीन विधेयक पारित

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदको बहिष्कारकाबीच राष्ट्रियसभा बैठकले बजेटसँग सम्बन्धित विभिन्न तीन वटा विधेयकलाई पारित गरेको छ ।

राष्ट्रिय सभाको शुक्रबार(आज) बसेको बैठकले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानीप्रसाद खापुङले पेस गर्नुभएको औषधि (तेस्रो संशोधन) विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको हो ।

त्यस्तै मन्त्री खापुङले नै पेस गर्नुभएको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्ताव पनि सर्वसम्मतिले पारित भएको छ ।

बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले पेस गर्नुभएको रेल्वे विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्ताव पनि सर्वसम्मतिले पारित भएको छ ।

त्यसअघि बैठकमा अर्थमन्त्री जनार्दन शर्माले तीन वटै विधेयकलाई मूल रुपमा नै सुझाव दिन पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाइयोस् भन्ने प्रस्ताव पेस गर्नुभएको थियो । बैठकमा अर्थमन्त्रीले उक्त विधेयक पेस गर्दा एमालेका सांसदहरूले विरोध जनाएका थिए ।
एमाले सांसदहरूले बजेट प्रस्तुत गर्ने एक दिन अघि अनधिकृत व्यक्तिको संलग्नतामा करको दर हेरफेर गरिएको आरोप लगाउँदै संसदीय छानबिन समिति बनाउन माग गर्दै आएको छ ।

एमाले सांसद भैरवसुन्दर श्रेष्ठले आगामी आवको बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको पहुँच पुर्‍याएर मुलुकलाई हानी पुर्‍याएकाले त्यसको निष्पक्ष छानबिन नभएसम्म आफूहरूको विरोध रहिरहने बताउनुभयो ।

बजेट निर्माणमा भएको कमजोरीको सत्य तथ्य पत्ता लगाउन संसदीय छानबिन समिति गठन गर्न आफूहरूको माग रहेको र एमाले संसदीय दलको बैठकले उक्त माग पूरा नभएसम्म बैठकमा सहभागी नहुने निर्णय गरेकाले आफूहरूले बहिष्कार गरेको उहाँले बताउनुभयो ।

त्यसलगत्तै एमाले सांसदहरू कार्यसूचीमा रहेको आर्थिक विधेयकसँग सम्बन्धित विषयको छलफलमा सहभागी नहुने भन्दै बैठक स्थलबाट बाहिरिएका थिए । एमालेको बहिष्कारका बीच राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकको कार्यसूची अगाडि बढाउनुभएको थियो ।